हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरीसँग एक दिन कार्यक्रममा विद्यालय तहका विद्यार्थीसँग अन्तरक्रिया गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार हेटौंडा–११, नवलपुरस्थित जेम्स स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई प्रहरीको काम कारबाहीको सम्बन्धमा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले अभिमुखीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीले बागमती प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु तथा शाखाहरुबाट सम्पादन हुने काम कारबाहीहरूको अवलोकन समेत गरेका थिए । सहभागी विद्यार्थीहरुलाई अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरको प्रयोग, विपद जोखिम न्यूनीकरण, कवाज लगायतका प्रदर्शनीमार्फत प्रहरी कामकारवाहीको बारेमा जानकारी गराइएको थियो ।
समाजमा हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्न विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम प्रभावकारी रहेको जेम्स स्कुलका प्रिन्सिपल बिजय तामाङले बताउनुभयो । प्रहरीका विभिन्न गतिविधी तथा कार्यशैलीबारे बुझ्ने अवसर प्राप्त भएको कार्यक्रममा सहभागी विद्यार्थीको भनाइ छ । २०७५ साल कात्तिक महिनाबाट सुरु भएको ‘प्रहरीसँग १ दिन’ कार्यक्रम विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण केही महिनाबाट रोकिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फागुन महिनादेखि प्रहरीसँग १ दिन कार्यक्रम सुचारु गरिएको हो ।