हेटौंडाः हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीले हेटौंडा–१० स्थित गोरक्षेश्वर धाम परिसर तथा धाम नजिकैको दाहसंस्कार स्थलको सरसफाई गरेका छन् । विद्यालयमा ६ कक्षामा अध्ययनरत विद्यार्थीले आइतबार त्यस क्षेत्रको सरसफाई गरेका हुन् ।
विद्यार्थीलाई समुदायको काममा स्वयंसेवी भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले विद्यालय नजिकै रहेको धाम र दाहसंस्कारस्थल सरसफाईको कार्यमा सहभागी गराइएको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । विद्यार्थीहरुले नै सरसफाईका लागि जाने प्रस्ताव गरेपछि विद्यालयले शिक्षकहरु ज्ञानु पौडेल र यशोदा थापालाई पनि सहभागी भई विद्यार्थीलाई सहजीकरण गर्न पठाइएको प्रधानाध्यापक उप्रेतीले बताउनुभएको छ ।
६ सय ५० विद्यार्थी अध्ययनरत अमर माविले विद्यार्थीको व्यक्तित्व, नेतृत्व विकास तथा सामाजिक क्षेत्रमा सहभागी गराउन विविध क्रियाकलापमा सहभागी गराउने गरेको छ । विद्यालयको प्रयाससँगै विद्यार्थी पनि स्वतःस्फूर्त रुपमा सामाजिक सेवाको क्षेत्रमा सहभागी हुन तथा रचनात्मक कार्यमा सहभागी हुन प्रेरित हुने गरेका छन् ।