हेटौंडाः जापान सरकारको सहयोगमा हेटौंडा उपमहानगरपालिकाका चारसहित मकवानपुर जिल्लामा ११ वटा विद्यालयको भवन निर्माण हुने भएको छ । विद्यालय भवन निर्माणका लागि हेटौंडा उपमहानगरका चार वटा र भीमफेदी गाउँपालिकाको एउटा विद्यालयसँग आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जापान सरकारको सहयोगमा हेटौंडा उपमहानगरपालिकाका बालजगृति युवा वर्ष माविमा ९ कोठे भवन, महेन्द्र माविमा २१ कोठाको भवन, निर्मल माविमा १८ कोठाको भवन र ज्योति माविमा ९ कोठे भवन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रीबहादुर पाठकले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुखको उपस्थितिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सम्बन्धित वडा अध्यक्षसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यसैगरी भीमफेदी गाउँपालिकाको पञ्चकन्या मावि इपामा निर्माण हुने भवनको पनि आइतबार नै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्षसमेतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरिएको इकाई प्रमुख पाठकले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको भोजसिद्व मावि, बागमती गाउँपालिकाको बाघभैरव मावि तथा चौरा आधारभूत विद्यालय, बकैया गाउँपालिकाको जनक मावि, थाहा नगरपालिकाको बज्रबाराही मावि र राक्सिराङ गाउँपालिकाको राष्ट्रिय माविको भवन निर्माणका लागिसमेत समझदारी गरिने इकाई प्रमुख पाठकले जानकारी दिनुभयो ।

११ वटै विद्यालय भवन निर्माणका लागि जापान सरकारले ४५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । भवन निर्माणका लागि केन्द्रीयस्तरबाटै शर्मा एड एम जेभी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । ११ वटा विद्यालयमा जम्मा एक सय २५ कोठाको भवन निर्माण हुने र काम सुरु भएको १६ देखि २० महिनाभित्र निर्माण सम्पन्न हुने इकाई प्रमुख पाठकले जानकारी दिनुभयो ।