हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाका महिलाहरुसँग प्रजनन स्वास्थ्यसम्बन्धी अन्तरक्रिया गरिएको छ । प्लान इन्टरनेशनलको सहयोगमा ग्रामीण महिला सेवा केन्द्रले सञ्चालन गरेको परिवर्तनका संवाहक परियोजनामा आवद्ध किशोरीका अभिभावकको सहभागितामा अन्तरक्रिया भएको हो ।
बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता मावि परिसरमा आयोजित कार्यक्रममा सहभागी स्थानीय महिलाहरुलाई प्रजनन स्वास्थ्यसम्बन्धी विविध विषयका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा महिनाबारीसम्बन्धी हानिकारक अभ्यासका कारण महिलाहरुले भोग्नुपरेको पीडाका बारेमा अन्तरक्रिया गरिएको थियो । बालविवाह, महिनाबारी चक्र, गर्भपतनजस्ता विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा लागू गर्दै कुरितिलाई सुधार गर्दै जाने र आफूले सिकेको कुरा अरुलाई पनि सिकाएर महिलाको स्वास्थ्यस्थितिमा परिवर्तन ल्याउने सहभागी हीरा बिकले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले आफ्ना छोराछोरीको बालविवाह नगर्ने र समुदायमा बालविवाह हुन लागेको थाहा पाएमा तुरुन्तै उजुरी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।