हेटौंडाः हेटौंडा अस्पतालको सामाजिक सेवा इकाईबाट चालु आर्थिक वर्षको सात महिनाको अवधिमा पाँच सय ३६ जनाले सेवा लिएका छन् । सामाजिक सेवा इकाईकी सहजकर्ता रिना राणाका अनुसार तीन सय चार जना पुरुष र दुई सय ३२ जना महिलाले सेवा लिएका छन् ।
हेटौंडा अस्पतालको इमर्जेन्सीमा आएका एक सय ३९ जना, ओपिडीमा आएका दुई सय २४ जनाले सामाजिक सेवा इकाईबाट प्राप्त हुने सुविधा लिएको सहजकर्ता राणाले बताउनुभयो । सामाजिक सेवा इकाईबाट लाभ लिने मध्ये एक सय ८४ जना गरिब, ५० जना असहाय, ११ जना अपाङ्गता भएका, ३६ जना लैंगिक हिंसापीडित, एकजना कुपोषित, ९ जना प्रहरीले ल्याएका थुनुवा र १२ जना सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति रहेका छन् ।
चालु आर्थिक वर्षमा सामाजिक सेवा इकाईले पाँच लाख ७० हजार आठ सय ८५ रुपैयाँ बराबरको सेवा प्रदान गरेको सहजकर्ता राणाले बताउनुभएको छ । बिरामीले उपचारका लागि एक लाख ७० हजार दुई सय रुपैयाँ व्यहोरेका छन् । हेटौंडा अस्पतालमा उपचार गराउन आएका विपन्न, असहाय, सीमान्तकृत, हिंसापीडितलाई उपचार सेवा प्रदान गर्न कै लागि सामाजिक सेवा इकाई स्थापना गरी सहजीकरणको प्रयास भइरहेको छ ।