हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को १३ वर्ष भन्दा कम उमेर समूह (यु–१३) का खेलाडी छनौट कार्यक्रम अन्तर्गत मकवानपुर जिल्लामा मंगलबारबाट छनौट कार्य सुरु भएको छ । मकवानपुरको हेटौंडास्थित वन विज्ञान क्याम्पसको खेलमैदानमा बिहीबारसम्म छनोटको प्रक्रिया चल्ने मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
छनोट प्रक्रियामा सहभागी हुन किशोर खेलाडीले २०६५ साल असोज १५ गतेदेखि २०६६ असोज १४ गतेसम्मको जन्मदर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । जिल्लामा उत्कृष्ट प्रदर्शन गर्ने किशोर खेलाडीलाई काठमाडौं पठाइनेछ । मंगलबार वन विज्ञान क्याम्पसको खेल मैदानमा ४० भन्दा बढी किशोर खेलाडी छनौट प्रक्रियामा सहभागी हुन आएका थिए । कतिपय किशोर खेलाडीका अभिभावक समेत खेल मैदान आइपुगेका थिए । मकवानपुर जिल्ला फुटबल संघले एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ, सुविन घिमिरे, निमा लामा, भीम लामा र ज्ञानु क्षेत्री सम्मिलित छनोट समिति गठन गरेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले उमेर समूहको टिम नभएको भन्दै नेपालका ए डिभिजन क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाटै बञ्चित गरेपछि यो वर्ष विभागीय क्बलसहित ‘ए’ डिभिजन क्लबले एन्फामार्फत किशोर खेलाडी छानेर उमेर समूहको टिम तयार पार्ने योजनामा छ । सोही अनुरुप एन्फाले जिल्लाको छनोट प्रक्रियालाई महत्वका साथ हेरेको छ । एन्फासँगै विभागीय क्लब र ‘ए’ डिभिजन क्लबले एकेडेमीको स्वरुपमा उमेर समूहको टिम तयार पार्न नियमित प्रशिक्षणका साथसाथै विद्यालय तहको शिक्षालाई पनि सँगसँगै लैजानुपर्ने हुन्छ ।