हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरुमा नेपाली राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु भएको छ । वडास्तरमै पुगेर घुम्ती शिविरमार्फत् विवरण संकलन गर्न सुरु भएको हो ।

४३ जनाको टोलीले नेपाली राष्ट्रिय परिचयपत्रका लागि हेटौंडाको वडास्तरमै पुगेर विवरण संकलन कार्य सुरु गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका दर्ता अपरेटर आशिष पौडेलले जानकारी दिनुभयो । मकवानपुर जिल्लाभर परिचयपत्रका लागि विवरण संकलन गरिने भएपनि पहिलो चरणमा हेटौंडा उपमहानगरपालिकाबाट सुरु गरिएको उहाँले बताउनुभयो ।

हाल हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, ३ ,४, ६, ९ र १० नम्बर वडामा विवरण संकलनको कार्य सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ र २ मा ६ जनाले ६ वटा केन्द्रमार्फत् विवरण संकलन गर्ने कार्य गरिरहेका छन् । यस्तै ३ नम्बर वडामा ६ जनाले २ स्थानबाट र ४ नम्बर वडामा १० जनाले ५ वटा केन्द्रबाट विवरण संकलन कार्य अगाडि बढाएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पठाएको २१ जना र चितवन जिल्लामा विवरण संकलन कार्य सम्पन्न गरेर आएका २२ जना गरी ४३ जनाबाट हेटौंडा उपमहानगरपालिकाको वडास्तरमै पुगेर विवरण संकलन भइरहेको छ । प्रत्येक वडामा कम्तिमा १५ दिनभित्र सबै विवरण संकलन गर्ने लक्ष्य लिइएको छ ।

वडास्तरमा पुगेको घुम्ती शिविरले नेपाली राष्ट्रिय परिचयपत्रका लागि १६ वर्षमाथिका नागरिकता प्राप्त गरेको व्यक्तिको मात्रै विवरण संकलन गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका परिचयपत्र तथा पञ्जीकरण शाखाका दर्ता अपरेटर सगुन पुडासैनीले जानकारी दिनुभयो । यस्तै विवाह भएका महिलाको हकमा भने विवाह दर्ता प्रमाणपत्रको आधारमा मात्र विवरण संकलन हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रलाई मतदाता परिचयपत्रको रूपमा, ब्यक्तिको राष्ट्रिय पहिचानपत्रको रूपमा, सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधारको रुपमा, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखका रूपमा प्रयोग गर्न मिल्नेछ । यस्तै अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवाप्रदायक निकायहरुले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सक्नेछन् । नेपाली राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नागरिकता, औंलाका छाप, आँखाको नानी तथा हस्ताक्षरसहित ३ पुस्ते विवरण हुनेछ ।

परिचयपत्र स्मार्ट कार्डको रुपमा आउने भएकाले यसको महत्व धेरै छ । नेपाली राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा र हाल हेटौंडाका वडावडामा विवरण संकलन कार्य भइरहेको छ । थप जनशक्ति आएसँगै मकवानपुरको अन्य स्थानीय तहहरुबाट पनि विवरण संकलन कार्य सुरु गरिने दर्ता अपरेटर पुडासैनीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा यो वर्षको असारदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नेपली राष्ट्रिय परिचयपत्रका लागि करिब ४ हजार ५ सय जनाको विवरण संकलन भइसकेको दर्ता अपरेटर सगुन पुडासैनीले जानकारी दिनुभयो ।

स्थानीय तहको वडा कार्यालयले राष्ट्रिय परिचयपत्रको लागि स्थानीयलाई प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाई छ । विवरण संकलन गराउनको लागि सक्कल नेपाली नागरिकता, बाबुआमाको नागरिकताको प्रतिलिपि, राहदानी लिएको भए सक्कल राहदानी, बसाईसराई गरेको भए बसाईसराई प्रमाणपत्र तथा विवाहितको हकमा पति-पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्दछ ।