हेटौंडा गोल्डकप प्रतियोगिताका लागि मकवानपुर ११ को टिम छनोट गर्नुहुँदै प्रशिक्षक विजयलाल श्रेष्ठ । फाइल तस्वीर ।

हेटौंडाः पर्सा जिल्लाको पर्सागढी–३ स्थित आमोदेवी युवा स्पोर्टस् क्लबको आयोजनामा हुन लागेको तेस्रो पर्सागढी गोल्डकप–२०७७ मा मकवानपुर जिल्ला फुटबल संघको टिम मकवानपुर ११ पनि सहभागी हुने भएको छ । फागुन १ गतेबाट सुरु भई फागुन ८ गते फाइनल खेल हुने प्रतियोगितामा मकवानपुर–११ ले उद्घाटन खेलमा बीरगन्ज युनाइटेडसँग खेल्नेछ ।

माघ २३ गते सम्पन्न विजय युथ हेटौंडा गोल्डकपमा सहभागी हुँदाको टिमलाई नै निरन्तरता दिएर मकवानपुर ११ को टिम प्रतियोगितामा सहभागी हुने एन्फा मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिनुभएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

आयोजकसहित सर्लाही, मकवानपुर, चितवन, महोत्तरी र उदयपुर जिल्लाबाट विभिन्न क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले एक लाख १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।