हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले खानेपानी बोर्डमार्फत नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध भइरहेको बताउनुभएको छ । गुणस्तरीय पानी उपलब्ध गराउनु खानेपानी बोर्डको दायित्व भएको र त्यसलाई बोर्डले पूरा गरिरहेको प्रमुख खुलालले बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिका–१४ स्थित बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समितिको तेस्रो साधारणसभालाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मार्फत हेटौंडा क्षेत्रमा खानेपानीको सुविधा प्राप्त भइरहेको बताउनुभयो । नागरिकलाई सहज रुपमा स्वच्छ र गुणस्तरीय खानेपानी उपभोगका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उहाँले वडा कार्यालयको सक्रियतामा १४ नम्बर वडामा त्योे समस्या बिस्तारै समाधान हुँदै गएको समेत बताउनुभयो ।
साधारणसभामा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काले १४ नम्बरमा अन्य विकाससँगै खानेपानी प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । उहाँले स्थानीय सरकार गठन भएको ३ वर्षमा वडामा खानेपानीको समस्या समाधान भएको बताउनुभयो । जिल्ला समन्वय समितिबाट प्राप्त रकमबाट निर्माण हुने खानेपानी आयोजना सम्पन्न भएपछि वडामा खानेपानीको समस्या पूर्ण रुपमा समाधान हुने उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति मकवानपुरले वडा नम्बर १४ मा खानेपानी आयोजना निर्माणका लागि २ करोड ७६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
तेस्रो साधारण सभाका अवसरमा बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी आयोजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ । खानेपानी योजनालाई दिगो बनाई राख्न खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने निर्णय गरिएको हो । उपभोक्ता समिति मार्फत ४ वर्षदेखि सञ्चालित खानेपानी आयोजनाबाट करिव ५ सय घरधुरी लाभान्वित छन् । वडा कार्यालयको सिफारिसमा यसै महिनाभित्र खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने बताइएको छ ।
कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बोर्डमातहत आएपछि उक्त क्षेत्रमा रहेको खानेपानीको समस्या पूर्ण रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष मोहन सिंह मोक्तानको सभाध्यक्षतामा भएको साधारणसभामा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी प्रमुख सुदर्शन ढकाललगायतको उपस्थिती थियो ।