बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

रामेछापः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक कायापलटको दिशामा गएको बताउनुभयो । रामेछापको खाडादेबी गाउँपालिका–३ लाफ्कामा निर्माण गरिएको माझीबस्ती हस्तान्तरण गर्दै उहाँले सरकार अहिले टोलटोलमा र घरघरमा पुगेको बताउनुभयो । जनताले हाम्रो सरकार छ भन्ने अनुभूति गर्न थालेको पनि उहाँको भनाई थियो ।

वर्तमान सरकार जनताको हित र मुलुकको समृद्धि उन्मुखतिर लागेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘ वर्तमान सरकारले ३ बर्षमा गरेको काम र बिगत ३० वर्षको इतिहासमा गरेको काम हेरौं, कुन पालामा बढी काम भएको छ ? कसले बढी काम गरेको छ हेरौं ।’ समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा देश लागेपनि प्रचण्ड–माधव समूह व्यक्तिगत स्वार्थमा लागेकाले केही बाधक बनेको पनि उहाँको धारणा थियो । यसको बाबजुद पनि जनताको हित, मुलुक रूपान्तरणमा देश अगाडि बढेको मुख्यमन्त्री पौडेलेको भनाई छ ।

विकासलाई वितरणमुखी नभई समानुपातिकरूपमा अगाडि बढाउँदै आधारभूत आवश्यकता पहिले पूरा गर्नुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो । देश निर्वाचनमा गइसकेको स्मरण गराउँदै उहाँले निर्वाचनको विकल्प नभएको बताउनुभयो । सोचेअनुरुप काम गर्न नदिएपछि ताजा जनादेशमा जाने निर्णय प्रतिगामी नहुने जिकिर मुख्यमन्त्री पौडलले गर्नुभयो ।

अहिले जनतामा जाने विधि नै लोकतान्त्रिक पद्धति हो भन्दै प्रचण्ड–माधव प्रतिगमनमा जान खोजेकाले यो अवस्था आएको धारणा मुख्यमन्त्री पौडेलले राख्नुभयो । प्रदेश सरकारमा अविश्वास प्रस्ताव राखेपनि असफल हुने उहाँले बताउनुभयो । संसदीय दलको निर्वाचनमा पराजित गरेको भन्दै हाल मुख्यमन्त्रीमा प्रस्तावित अष्टलक्ष्मी शाक्यलाई फेरि पनि असफल बनाउने दाबी उहाँले गर्नुभयो । अविश्वासको प्रस्ताव स्वभाभिक प्रक्रिया भएपनि उनीहरुलाई सफल हुन नदिने मुख्यमन्त्री पौडेलले प्रष्ट पार्नुभयो ।

बस्ती निर्माणका लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए । एकीकृत बस्तीमा सामुदायिक भवन, खेलमैदानलगायतका संरचनासमेत रहेको छ । गाउँपालिकाले एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । बस्ती निर्माणका लागि गाउँपालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ खर्च गरेको थियो । बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको एकीकृत बस्तीमा ४२ वटा घर, सामुदायिक भवन, खेल मैदानलगायतका संरचना रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, गाउँपालिका अध्यक्ष प्रेम तामाङलगायतको सहभागिता थियो ।