जमुना थिङ

म एउटी साधारण किसानको छोरी हुँ । अहिले मकवानपुर बाहुमुखी क्याम्पसमा कक्षा १२ मा मानविकी सङ्कायमा अध्ययनरत छु । सानैदखि सङ्घर्षमा हुर्किंदै गर्दा केही अनुभव पक्कै मलाई पनि छ । अनि गरिब हुँदाको पीडा पनि । हामीजस्तालाई समाजले हेर्ने दृष्टिकोण अनि गर्ने व्यवहारबाट पनि केही जानकार छु ।

म अहिले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, कक्षा १२ को अध्यक्ष छु । पार्टीको झण्डाको व्यानर समाएको पोष्ट सामाजिक सञ्जाल पेसबुकमा पोष्ट गरेको देख्नुभएर मलाई के त्यो बाटोमा म तिमीलाई देख्न म सक्छु होला र ? भन्नु स्वभाविक हो । अहिले राजनीति फोहोरी छ । एकले अर्कोलाई कसरी पार्टीबाट कमजोर बनाउने भन्ने मानसिकता बेकिरहेका छन्, नेताहरु । पार्टीको पत्रकार सम्मेलन होस्, कोणसभा होस् या विरोधसभा, जहाँ पनि पार्टी लडाउने कुरा नेताहरुले राखेकै हुन्छ । के त्यसो ग र्न म तयार छु त ? कदापि छैन । तर म यो समाज र देशका लागि जहिले पनि तयार छु । अत्याचार, भ्रष्टाचार, कलाबजारी अनि बलात्कारीलाई कानुनको दायरामा ल्याउन र अन्त्य गर्न ।

अहिले म मिडियामा सक्रिय भएकी छु । त्यही मिडियाबाट होस् या राजनीतिबाट देशका गरिब जनतालाई शिक्षित अनि सुखी र समृद्ध नेपालको निर्माण गर्न हरपल लाग्ने चाहना राखेको छु । मेरो त्यो चाहना अवश्य पनि पूरा हुन्छ भन्ने विश्वास राख्दछु । मेरो पनि हरेक इच्छा र चाहनाहरु हुन्छन्, पक्कै त्यो मेरो देशका लागि हुनेछ । जो मेरा लागि शुभचिन्तक बन्नुभएको छ, उहाँहरुले देखाउनुभएको बाटोमा सदैव लाग्नेछु । त्यस बाटोलाई पछ्याएर समृद्ध र सुखी नेपाल बनाउने मेरो कोसिस रहनेछ ।

अब देश बदल्नु छ भने बाटो बदल्नु पर्छ । विचार बदल्नु छ भने सिद्धान्त पनि बदल्नु पर्छ । पुराना सिद्धान्त, विचार बोकेका पार्टी जो छन्, यिनीहरुलाई देशबाट पतन गर्नुछ । भएका उद्योग बेचेर खाए । सम्पूर्ण क्षेत्रमा संगठन खोल्ने र युनियन बनाएर दादागिरी, गुण्डागर्दी गर्ने, देश र जनतामाथि अन्याय गर्दै गए । अहिले हस्पिटल स्वतन्त्र छैन । स्कूल कलेज स्वतन्त्र छैन । शिक्षकले विद्यार्थी बलात्कार गर्छन् । कारवाही गरे शिक्षकको संगठनले विज्ञप्ति निकाल्छ । डाक्टरले लापरबाही गर्दा कारबाही गरे उनीहरुको संगठनले विज्ञप्ति निकाल्छ । नेताले गल्ती गर्छन्, बचाउन विद्यार्थी संगठन विज्ञप्ति निकाल्छ । अब नागरिक विकास माग्न कहाँ जाने ? न्याय माग्न कहाँ जाने ? आफ्नो शिक्षामा भविश्य कसरी सोच्ने ? उपचार पाउँछु भन्ने कुरा कसरी प्रत्याभूति गर्ने ? तपाईंको प्रश्न अनि शब्दले मलाई अति सोचमग्न बनाउनुभएको छ । यी शब्द अनि प्रश्नहरुको उत्तरलाई सबै पार्टी निकायको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।

पार्टीहरु जनतालाई लडाउँछन्, आँखा फुटाउँछन् । आफ्नो स्वार्थ पूरा गरेपछि यिनैलाई खाडी पठाउँछन् । भोट र नोट भए पुग्छ । यस्ता नेतालाई नेतृत्व मान्ने यी युवा विद्यार्थीको सपना पनि त्यही हो । भोलि हाम्रा पुस्तालाई यसैगरी ठगेर खाउँला, करोडौंका गाडी चढौंला, अरबौ ऋण र अनुदान ल्याएर महल बनाउँला, जनतालाई कर थपेर छोराछोरी युरोप अमेरिकामा सेटल गरौंला, देश कंगाल बनाइसकेर उतै विस्थापित हौंला भन्ने सपना छ ।

तिम्रो घरमा विद्युत् आउँदैन, वास्ता छैन । धारामा पानी आउँदैन, वास्ता छैन । बाटो बन्दैन, हिलो धुलो जिन्दगीभर खानुपर्छ, वास्ता छैन । तर आफ्ना नेताले पद पाउँदैन अनि आगो बाल्छन्, टायर बाल्छन्, जनताका सवारी आगजनी गर्छन् । के त्यो बाटोमा तिमीलाई म देख्न सक्छु होला र ? यी अभिलाषा बोक्नेहरु समाज अनि देशमा प्रशस्त छन् । त्यो म कदापि हुन दिनेछैन भन्ने तपाईंहरुलाई विश्वास दिलाउँदछु ।