हेटौंडा उपमहानगरपालिकामा शुक्रबार भएको छलफलमा सहभागीहरु ।

हेटौंडाः मकवानपुर जिल्लाको विभिन्न पालिकाको शिक्षा शाखाका अधिकारीहरुले अन्तरपालिका कार्यसम्पादनका विषयमा छलफल गरेका छन् । हेटौंडा उपमहानगरपालिकामा शुक्रबार अनौपचारिक रुपमा आपसमा कसरी समन्वय, सहकार्य र अनुभव आदानप्रदान गरी प्रभावकारी ढंगबाट शिक्षा क्षेत्रमा काम गर्न सकिन्छ भनी छलफल गरिएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ ।

थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मीको प्रस्तावमा अनौपचारिक छलफलको प्रयास भएको र आगामी दिनमा नियमित छलफल र अनुभव आदानप्रदानको अभ्यासलाई नियमित गर्ने सहमति भएको रिमालले बताउनुभएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलको समेत उपस्थितिमा छलफल भएको हो ।

कतिपय पालिकाको शिक्षा शाखामा अनुभवी अधिकारी रहेको र कतिपय पालिकाको शिक्षा शाखामा नयाँ अधिकारीहरु रहेकोले आपसमा अनुभव आदानप्रदान गर्दा शिक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सकिने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।