हेटौंडाः हेटौंडा–२, चौकीटोलस्थित ओम् वृद्धाश्रमले ३४ जना वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको छ । वृद्धाश्रममा ९ जना महिलासहित ३४ जनालाई ४ जनाले सेवा प्रदान गरिरहेका छन् ।
वृद्धाश्रमले आश्रितहरुको निरन्तर पालनपोषण तथा आश्रमको दिगोपनाका लागि अक्षयकोष स्थापना गरेको ओम् वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष आश्रममा आश्रित वृद्धवृद्धाको संख्या वृद्धि भएको बताउनुहुँदै अध्यक्ष पौडेलले वृद्धाश्रमको दैनिक खर्च जुटाउन र आवश्यक भौतिक संरचना निर्माणका लागि अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले अक्षयकोषमा रकम थप गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
आश्रमका लागि विभिन्न दाताहरुले प्रदान गरेको सबै रकमलाई अक्षयकोषमा जम्मा गर्ने र त्यसैको व्याजबाट खर्च गर्ने गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । आश्रमलाई संघ, प्रदेश तथा स्थानीय सरकारले केही सहयोग गरेको भए पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । अहिले बागमती प्रदेश सरकारले विभिन्न विद्यालयहरुमा नर्सको व्यवस्था गरेजस्तै आश्रमका लागि पनि नर्स र अत्यावश्यक औषधिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
सरकारले वृद्धाश्रमलाई औषधिको रुपमा पारासिटामोलमात्र दिँदै आएको गुनासो अध्यक्ष पौडेलले गर्नुभएको छ । वृद्धाश्रमलाई अब सरकारले चलाउनुपर्ने उहाँले बताउनुभयो । आफूले कुनै आर्थिक सुविधा नलिई आश्रमलाई स्थापना कालदेखि यो अवस्थासम्म ल्याएको बताउँदै अध्यक्ष पौडेलले आश्रमलाई सरकारले चलाउन नसक्ने हो भने आश्रमको खर्चमा साझेदारी गर्नेतर्फ ध्यानाकर्षण गराउनु भएको हो ।
वृद्धाश्रमले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन हेटौंडा अस्पताल विकास समितिलाई समेत पत्राचार गरेको आश्रमका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले हप्ताको एक दिनमात्रै भए पनि स्वास्थ्यकर्मी आश्रममा आएर आश्रित वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभयो ।
परिवारले उचित रेखदेख नगरेका कारण अधिकांश वृद्धवृद्धा आश्रममा आउने गरेको बताउँदै कतिपयले भने वृद्धावस्थाका आफ्ना बाबुआमालाई वृद्धाश्रममा ल्याएर राख्ने गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । परिवारमा कोही नभएका, परिवारले पालनपोषण गर्न नसक्ने अवस्थाका र परिवारमा बस्न नचाहेका वृद्धवृद्धालाई आश्रमले आश्रय दिइरहेको उहाँले बताउनुभयो । सहयोगी मन भएकाहरुले आश्रमलाई सहयोग गर्दै आएकोमा अध्यक्ष पौडेलले धन्यवाद दिनुभयो ।