हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बकैया गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमती प्रदान गर्ने निर्णय गरेको छ । जिससको मंगलबार बसेको ७२औं बोर्ड बैठकले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमती प्रदान गर्ने निर्णय गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले बकैया गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि, २०७० र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिका भित्रका १२ वटा वडाहरु बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यान्वयन घोषणाको प्रक्रियामा विगतदेखि नै कार्य गर्दै आएको र बालमैत्री स्थानीय तह हुनका लागि तोकिएको मापदण्ड तथा संस्थागत व्यवस्थाहरु पूरा गरेको प्रतिवेदनका आधारमा जिससबाट अनुगमन गर्दा गाउँपालिकाको सम्पूर्ण वडाहरु तथा गाउँपालिका समेतबाट निर्धारित सूचक तथा मापदण्ड पूरा गरेको पाइएकोले घोषणाको अनुमति दिइएको हो । गाउँपालिकालाई बालमैत्री रणनीतिक योजनालाई निरन्तरता दिन समेत अनुरोध गर्दै हालसम्मको प्रगतिका आधारमा बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्न अनुमती प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिससले नियमित प्रकाशन गर्दै आएको ‘मकवानपुर’ नामक पुस्तक प्रकाशन गर्ने र सो को लागि जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा सम्पादक मण्डल गठन गर्ने निर्णय गरेको छ । पुस्तकमा जिससका आर्थिक कार्यक्रम, पालिका र कार्यालयहरुले जिल्ला भित्र गरेका नवीन प्रयास, सफलताका कथा समन्वयकारी सुशासन सम्बन्धी लेख रचनाहरु, जिससका अनुगमन प्रतिवेदन अध्ययन अनुसन्धान प्रकाशन गर्ने र यो वर्ष मकवानपुर पुस्तक शीर्षकमा “शासकीय समन्वयमा जिसस” उपशीर्षक थप गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले तत्कालिन जिल्ला विकास समितिले मर्मतका लागि काठमाडौं लगिएको बा १ झ ७२५२ नम्बरको हुण्डाई जिप मर्मत हुन नसकेर थन्किएको हुँदा उक्त गाडी जे जस्तो अवस्थामा छ सोहि अवस्थामा हेटौंडा ल्याई कुनै उपयुक्त र सुरक्षित स्थानमा राखी गाडीको हालको अवस्था मूल्यांकन गरी प्रचलित कानून बमोजिम लिलामी प्रक्रिया अघि बढाउन समेत कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, चित्रबहादुर बलामी, सरिता बिक, समन्वय अधिकारी आनन्दराज पोखरेललगायतको सहभागिता थियो ।