हेटौंडाः मकवानपुर जिल्लाकै सफल क्लब एफसी विजय युथले आयोजना गरेको भिडोल विजय युथ हेटौंडा गोल्डकपको फाइनल खेल आज शुक्रबार हुँदैछ । हेटौंडाको वन विज्ञान क्याम्पसको खेल मैदानमा हुने फाइनल खेलमा आयोजक एफसी विजय युथ र चितवनको सेन्ट्रल कलेज बीएफसी भरतपुरबीच उपाधि भिडन्त हुँदैछ ।

फाइनल खेलमा जीत हासिल गर्दै गोल्डकप उपाधि, नगद तीन लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न दुबै टिमको सशक्त प्रयत्न हुने देखिन्छ । बुधबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक एफसी विजय युथ हेटौंडाले बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै पहिलो सेमीफाइनल खेलमा मंगलबार सेन्ट्रल कलेज बीएफसी भरतपुरले चितवनको हर्दि युवा समाजलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

आज शुक्रबार हुने फाइनल खेलमा उपाधि भिडन्तका साथै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत पुरस्कृत गरिनेछ । माघ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।