प्रतिष्ठानका कुलपति समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रतिष्ठानको सभामा सहभागीहरु ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार बसेको छ । सभाले प्राध्यापकको मासिक पारिश्रमिक निर्धारण गरेको छ । बिहीबार प्रतिष्ठान सभाले स्वास्थ्य विज्ञानतर्फ मासिक तलब प्राध्यापकको दुई लाख १२ हजार रुपैयाँ, सहप्राध्यापकको एक लाख ४९ हजार दुई सय ७० रुपैयाँ, उपप्राध्यापकको एक लाख २७ हजार नौं सय २६ रुपैयाँ र सहायक प्राध्यापकको एक लाख आठ हजार नौं सय ५० रुपैयाँ तोकिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभएको छ । स्वास्थ्य विज्ञानतर्फका प्राध्यापकहरुको तलब सुविधा अध्यापनसँगै प्रतिष्ठानको अस्पतालमा उपचार सेवा समेत प्रदान गर्ने गरी तय गरिएको हो । प्रतिष्ठानमा काम गर्ने पूर्णकालिन प्राध्यापकहरुले प्रतिष्ठानभन्दा बाहिर कुनै पनि निजी स्वास्थ्य संस्थामा काम गर्न पाउने छैनन् ।

यस्तै प्रतिष्ठानले स्वास्थ्य विज्ञानबाहेकको क्षेत्रमा मासिक तलब प्राध्यापकको एक लाख १५ हजार दुई सय ९२ रुपैयाँ, सहप्राध्यापकको ९१ हजार ८० रुपैयाँ, उपप्राध्यापकको ७५ हजार आठ सय आठ रुपैयाँ र सहायक प्राध्यापकको ६१ हजार १२ रुपैयाँ निर्धारण गर्ने निर्णय भएको रजिष्ट्रार प्रसाईले जानकारी दिनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका व्यवस्थालाई अध्ययन गरेर प्राध्यापकको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको बताइएको छ ।

बिहीबार बसेको सभाले ३ वटा नियमावली पारित गरेको छ भने ऐनमा संशोधनको प्रस्ताव पारित गर्नुका साथै आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक, दलित मध्येबाट एकजना महिलासहित दुईजना सभाको सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभएको छ ।

प्रतिष्ठानको तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, अस्पताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली पारित गरेको रजिष्ट्रार प्रसाईले बताउनुभएको छ । प्रतिष्ठानका कुलपति समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको सभाले जनशक्ति तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको प्रसाईको भनाइ छ । चालु आर्थिक वर्षबाटै तीन वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले प्रतिष्ठानमा नियुक्त भई कार्य गर्ने प्राध्यापकहरुको तलब स्केल पनि निर्धारण गर्ने निर्णय गरेको छ ।

रमिला घलानलाई प्रतिष्ठानको सभा सदस्यमा मनोनित गरेपछि प्रतिष्ठानको सभामा पदाधिकारीको संख्या १३ पुगेको छ । प्रतिष्ठानमा अझै प्राध्यापकहरुमध्येबाट २ जना प्रतिनिधि, आदिवासी, जनजाति, अल्पसंख्यक, दलित, सिमान्तकृत समूहबाट एकजना र कर्मचारीबाट एकजना मनोनित हुन बाँकी छ । प्रतिष्ठानको सभामा कुलपतिसहित १७ जना पदाधिकारी रहने व्यवस्था छ ।

चालु आर्थिक वर्षबाटै स्नातक तहमा फार्मेसी, पब्लिक हेल्थ र ल्याब टेक्निसियन विषयको पठनपाठन सुचारु गर्ने लक्ष्यसहित जनशक्ति नियुक्तिको तयारी समेत थालेको रजिष्ट्रार प्रसाईले बताउनुभएको छ । प्रतिष्ठानको सभाले गरेको निर्णय सामाजिक विकास मन्त्रालय हुँदै सरोकारवाला मन्त्रालयमा पुगेर रायसहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा पेश भएर पारित भएपछि लागु हुनेछ ।

बिहीबार मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रतिष्ठान सभामा प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी, बागमती प्रदेशका मुख्य सचिव डा. मानबहादुर बिके, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव डा. हरिप्रसाद लम्साल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुँडाल, निर्देशक डा. हरिबहादुर खड्काको पनि उपस्थिति रहेको थियो । प्रतिष्ठानले डीन भने नियुक्त गर्न बाँकी छ ।