जिल्लामा प्रहरी प्रमुख परिवर्तन हुने बित्तिकै अपराध नियन्त्रणको ग्राफमा देखिने सुधार आशा लाग्दो हुन्छ । संघ, संस्था वा संगठनमा प्रमुखको भूमिकालाई बुझाउने गरी प्रहरी संगठनको जिल्ला प्रमुख मात्रै नभई इलाका र चौकीस्तरमा पनि प्रहरी संगठनमा नयाँ प्रमुखको भूमिका उत्तिकै ओजपूर्ण देखिन्छ । तर, प्रमुखको रुपमा कार्यक्षेत्रमा परिचित हुने गरी अपराध नियन्त्रणमा सक्रियता देखिएसँगै प्रहरी प्रमुखको भूमिका सुस्ताउँदै जान्छ । फेरि सरुवा भएर जाने बेलामा प्रहरी संगठनका प्रमुखहरुको भूमिका उत्तिकै सशक्त देखिन्छ । यो निक्कै अर्थपूर्ण छ ।
मकवानपुरमा प्रहरी संगठन प्रमुख फेरिएलगत्तै मुख्यतः लागूऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ गर्ने क्रम ह्वात्तै बढ्छ । जिल्लाको राक्सिराङ, कैलाश, मनहरी गाउँपालिकादेखि थाहा नगरपालिका हुँदै हेटौंडा उपमहानगरकै दुर्गम क्षेत्रमा प्रहरीले लागूऔषध गाँजा र अफिम खेती नष्ट गर्नेदेखि ओसारपसारमा नियन्त्रण गर्ने प्रयास सशक्त रुपमा भएको देखिन्छ । प्रहरी प्रमुख सरुवा हुने समय नजिकिँदै गर्दा मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीले लागूऔषध फँडानीको क्रममा लेनदेन समेत गरेको भनी अख्तियारमा उजुरी समेत दर्ता भएको थियो ।
यतिबेला मकवानपुर जिल्लामा प्रहरी प्रमुख फेरिएको छ । प्रहरी प्रमुखको रुपमा सुशील सिंह राठौरको सरुवा भएर नयाँ प्रहरी प्रमुखको रुपमा सोमेन्द्र सिंह राठौर आउनुभएको छ । सुशील गएर सोमेन्द्र आउँदै गर्दा प्रहरी प्रमुखको फेरिएको जनाउ दिने गरी प्रहरी संगठन परिचालित भएको देखिन्छ । देशको प्रमुख सुरक्षा संयन्त्र भित्रको यस किसिमको चरित्र आम रुपमा आशंकाको विषय बन्ने गरेको छ । सुरक्षा निकायको शक्तिको दुरुपयोग भएको भनेर जानकारहरुले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् । यद्यपि सुरक्षा निकायको भूमिकामा भने सुधार हुने स्थिति छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित प्रहरी चौकीले दैनिकजसो लागूऔषधसहित दूव्र्यसन र कारोबारीलाई पक्राउ गर्ने गरेको थियो । तर, आजभोलि प्रहरीले लागूऔषध दूव्र्यसन र कारोबारी भेट्टाउनै सकेको छैन ।
हतियारधारी सुरक्षा निकायको यस किसिमको शंकास्पद चरित्रलाई बुझ्ने क्षमता र चासो राजनीतिक नेतृत्वमा हुनु पर्छ । राजनीतिक नेतृत्वले आफ्ना नेता, कार्यकर्तामार्फत सुरक्षा निकायदेखि नागरिकको सेवामा स्थापित राज्यका निकायको भूमिकालाई सशक्त बनाउन गर्नुपर्ने प्रयत्न सकारात्मक देखिन्न । प्रहरी संगठन संवेदनशील र जिम्मेवार संगठन हो । प्रहरी संगठनभित्रको संवेदनशीलता र जिम्मेवारीलाई लिएर प्रमुखहरुको भूमिका मै आशंका हुने गरी भइरहेका कार्यप्रति आम चासो र सरोकारको विषयको रुपमा लिनुपर्छ । अपराध नियन्त्रण र समाजमा अपराध नै नहोस् भनेर सतर्कता अपनाउनुपर्ने प्रहरी संगठनको प्रमुख फेरिँदै गर्दा देखिने सक्रियता संगठन प्रमुख समुदायमा परिचित भएसँगै प्रहरीको भूमिका कमजोर हुँदै जाने स्थिति विरोधाभाषपूर्ण छ । यस विषयमा सरकोरवाला र विशेषगरी राजनीतिक नेतृत्वको ध्यान जानु जरुरी छ । नागरिक समाजको तर्फबाट पनि प्रहरीको भूमिकालाई गम्भीरताका साथ लिनु आवश्यक छ ।