हेटौंडाः मकवानपुर जिल्लामा कक्षा १२ को नतिजामा ६ हजार ३ सय ६३ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको शैक्षिक सत्र २०७६ को कक्षा १२ को नतिजामा सहभागी सबै विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।
मकवानपुरका जिल्लामा नियमिततर्फ ४ हजार ४ सय ९३ जना र आंशिकतर्फ १ हजार ८ सय ७० जनाले कक्षाको १२ को परीक्षा दिएको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाले जानकारी दिएको छ । कमजोर ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेडवृद्धिका लागि फेरि परीक्षा दिन पाउने भए पनि परीक्षाको टुंगो नलागेको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो ।
मकवानपुरमा ४ जीपीए ल्याउने कुनै विद्यार्थीहरु छन् कि छैनन् भन्ने पनि हालसम्म खुलेको छैन । हालसम्म मकवानपुरमा सबैभन्दा बढी हेटौंडा स्कूल अफ म्यानेजमेन्टका अनुप धितालले ३.९३ जीपीए प्राप्त गरेको बुझिएको छ । कक्षा १२ मा हेटौंडा स्कूल अफ म्यानेजमेन्टबाट १ हजार २ सय ५९ जनाले परीक्षा दिएका थिए । विज्ञान संकायका अनुप धितालले ३.९३ जीपीए ल्याउँदै कलेज टप गरेका छन् । यस्तै होटल म्यानेजमेन्टतर्फ राजीवकुमार यादव र उज्ज्वल ढुंगानाले ३.९२ जीपीए प्राप्त गरेका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसबाट १ हजार ९६ जना विद्यार्थीहरुले कक्षा १२ को परीक्षा दिएका थिए । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा १२ को नतिजामा विज्ञान संकायतर्फका कुशल अधिकारीले ३.७८ जीपीए ल्याएर कलेज टप गरेका छन् । यस्तै, व्यवस्थापन संकायका कृष्ण यादवले पनि ३.७८ जीपीए ल्याएका छन् । क्याम्पसको शिक्षा संकायतर्फ वास्ताकुमारी पाख्रिनले ३.०३ जीपीए र मानविकीतर्फ उज्वल सापकोटाले २.९९ जीपीए ल्याएर संकाय टप गरेको मकवानपुर क्याम्पसका परीक्षा शाखाका इरोज न्यौपानेले जानकारी दिनुभयो ।
हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट कक्षा १२ को परीक्षा दिएका विद्यार्थीको जीपीए पत्ता नलागेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले बताउनुभएको छ । एक–दुई दिनभित्रै सबै तथ्यांक आउने उहाँले जानकारी दिनुभएको छ ।
हेटौंडा–४ स्थित भूटनदेवी माविमा ३९ जनाले कक्षा १२ को परीक्षा दिएका थिए । प्राविधिकतर्फका विनिशा दाहालले ३.५७ जीपीए ल्याएर विद्यालयको उत्कृट बनेकी छिन् । यस्तै विज्ञान शिक्षातर्फ ३.१९ जीपीए ल्याएर रमेश थिङ संकाय टपर बनेका छन् ।
हेटौंडा–४ कै आधुनिक राष्ट्रिय माविमा ५६ जनाले कक्षा १२ को परीक्षा दिएको विद्यालयले जानकारी दिएको छ । व्यवस्थापन संकायतर्फ जितजंग लाकान्द्रीले ३.२३ जीपीए ल्याएर विद्यालय टप गरेका छन् । यस्तै शिक्षाशास्त्रतर्फ प्रीति राना मगर र सन्ध्या देवकोटाले २.७५ जीपीए ल्याएर संकाय टप गरेका छन् ।
मकवानपुर जिल्लामा कक्षा १२ मा ४ जीपीए ल्याउने विद्यार्थी हालसम्म भेटिएको छैन । यद्यपि राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाले भने यसको पुष्टी गरेको छैन । सोमबार कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको थियो ।