हेटौंडाः मकवानपुर जिल्लामा ४ वटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ । मंगलबार मकवानपुरको थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकामा निर्माण हुने स्वास्थ्य संस्थाका भवनहरुको शिलान्यास गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका–११, टिष्टुङमा निर्माण हुने १० कोठे स्वास्थ्य चौकी भवनको राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का प्रमुख तुल्सीराम खर्बुजाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ । भीमफेदी–४, निबुवाटार स्थित ९ कोठे स्वास्थ्य चौकी भवनको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रविन पाठकले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।
थाहानगरको टिष्टुङ र राक्सिराङको खैराङमा शिलान्यास गरिएका स्वास्थ्य चौकीमा ५ शैय्या रहने बताइएको छ । यी दुबै स्वास्थ्य चौकी भवन १८ महिनाभित्र निर्माण सम्पन्न हुनेछन् । बकैयाको धियाँल तथा भीमफेदीको निबुवाटारमा शिलान्यास गरिएको स्वास्थ्य चौकी भवन १५ महिनाभित्र सम्पन्न हुने बताइएको छ ।
बकैया–२, धियाँलस्थित स्वास्थ्य चौकी भवनको बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का लेखा प्रमुख दीपक गजुरेल र इन्जिनियर प्रज्ज्वल श्रेष्ठले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । राक्सिराङ–८, खैराङस्थित २२ कोठे स्वास्थ्य चौकी भवनको प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का विष्णु अर्यालले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।
४ वटा स्वास्थ्य संस्था भवनको निर्माणका लागि १० करोड ४९ लाख ८२ हजार ८ सय २१ रुपैयाँमा ठेक्का सम्झौता भएको भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रविन पाठकले जानकारी दिनुभयो ।