साङ्केतिक तस्बिर google.com ।

हेटौंडाः मकवानपुर प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हेटौंडा २ बस्ने ३७ वर्षको सभित चन्द्र राजभण्डारीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला अदालत बागलुङको फैसलाले सरकारी कागज, छाप, दस्तखत किर्ते मुद्दामा ११ महिना १४ दिन कैद र ५० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौंडा ४ का ३५ वर्षीय दीपेश खड्कालाई शनिबार पक्राउ गरेको छ । खड्कालाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भीमफेदी पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

यसैगरी, जिल्ला अदालत मकवानपुरको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २० दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भीमफेदी–२ का ३६ वर्षीय रामशरण बललाई आइतबार पक्राउ गरिएको छ । बललाई कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भीमफेदी पठाउने तयारी भएको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।

कर्तव्य ज्यान मुद्दामा १८ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी भीमफेदी–२ कै ६० वर्षीय कुमार गोलेलाई पनि शनिबार प्रहरीले पक्राउ गरेको छ । गोलेलाई बाँकी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।