हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग तथा मकवानपुर जिल्ला फुटबल संघको संयोजनमा फुटबल खेलका रेफ्री प्रशिक्षण आइतबार सकिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा एक साताअघि सुरु भएको तालिमको आइतबार समापन गरिएको हो ।
तालिममा बागमती प्रदेशको ११ जिल्लाका ३५ जनाको सहभागिता रहेको थियो । तालिममा २१ जना उत्तीर्ण भई चौथो दर्जाको रेफ्रीको प्रमाणपत्र समेत प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको पनि उपस्थिति रहेको थियो । फिफा रेफ्रि तथा ईन्स्ट्रक्टर लव खत्री, शैलेश जोशी, कल्पना शर्मा, रोजिन श्रेष्ठ र गजेन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।