हेटौंडाः तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा हेटौंडामा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी माघ ३० गतेका दिन २८५७ औ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

मकवानपुर तामाङ कलाकार संघको आयोजनामा हेटौंडाको टीसीएन चौरमा सांस्कृतिक कार्यक्रम हुने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । सांस्कृतिक कार्यक्रममा तामाङ जातिको भेषभुषा, संस्कृति, मौलिक खानाको प्रदर्शन गरिनुका साथै लामा झाँँक्रीहरुको विशेष प्रस्तुति रहने मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष तथा कार्यक्रम संयोजक धिरेन लामाले बताउनुभयो ।

संघ अध्यक्ष लामाको संयोजकत्वमा २५ सदस्यीय ल्होछार विशेष वृहत् सांस्कृतिक कार्यक्रम मूल आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा अनराज मोक्तान, आर्थिक संयोजकमा माया घलान, प्रचारप्रसार संयोजकमा बिक्रम लुङबा, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा रवीन्द्र थिङ, कलाकार संयोजकमा सुजना रुम्बा, अतिथि सत्कारमा राधिका स्याङ्तान, मायाको चिनो व्यवस्थापन संयोजक विमला थिङ, स्टल व्यवस्थापनमा सोयल लामा र झाँकी व्यवस्थापनमा साम्तेन मोक्तानलगायतलाई जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । विगत वर्षहरु जिल्लाको गुम्बा, घेदुङ, तामाङ गुठीलगायतले संयुक्तरुपमा ल्होछार महोत्सव गर्दै आएकोमा यसवर्ष मकवानपुर तामाङ कलाकार संघको आयोजनामा कार्यक्रम हुने भएको हो ।