हेटौंडाः नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुले सोमबार हेटौंडामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध गर्न लागिएको विरोध प्रदर्शनको तयारी पूरा भएको जनाएको छ । आइतबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको छलफलपछि सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो ।

सोमबार अपराह्न १२ बजे हेटौंडा २ मा रहेको कांग्रेस पार्टी कार्यालयबाट सुरु हुने विरोध प्रदर्शनपछि हेटौंडा बजारको बुद्धचोकमा विरोधसभा गरिने नेपाल तरुण दल मकवानपुका अध्यष ईश्वर पाठकले जानकारी दिनुभयो । केपी ओली सरकारले चालेको संसद् विघटनमार्फत् सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनतालगायत विरुद्धमा प्रदर्शन गर्न लागिएको पाठकले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस र यसका भ्रातृ संगठनहरु आन्दोलनमा रहेको नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले बताउनुभयो ।

छलफलमा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, पार्टी प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्यहरु राजीव सुवेदी, अमृता थापा, क्षेत्रीय सभापति यतिराज सापकोटा, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका पूर्वअध्यक्ष अर्जुन श्रेष्ठ, नेपाली कांग्रेस हेटौंडा उपमहानगपालिका वडा नम्बर ४ समितिका सभापति हरिप्रसाद पौडेल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष मणिराज गौतमलगायतको उपस्थिति रहेको थियो ।