हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको टोलस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा तल्लो ताल टोल विकास संस्था (ए) र कृष्ण मन्दिर टोल विकास संस्था (ए) प्रवेश गरेको छ । तल्लो ताल र कृष्ण मन्दिर टोलले उपाधिका लागि आज शनिबार फाइनल खेल खेल्नेछ ।
शुक्रबार भएको सेमीफाइनल खेलमा तल्लो तालले सरस्वती टोल विकास संस्थालाई २५–१९, २५–२२ र २८–२६ को सेटमा पराजित गरेको हो । यस्तै अर्को सेमीफाइनल खेलमा कृष्ण मन्दिरले दुम्सीडाँडा (बी) लाई २५–१९, २२–२५, २७–२५ र २५–२३ ले पराजित गरेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि सरस्वती टोल विकास संस्था र दुम्सीडाँडा टोल विकास संस्था (बी) बीच खेल हुनेछ ।
बिहीबारबाट सुरु प्रतियोगितामा ११ नम्बर वडाका ९ वटा टिमको सहभागिता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । भलिबल प्रतियोगिता आयोजनाका लागि ११ नम्बर वडा कार्यालयले सहयोग गरेको छ ।