Home मुख्य समाचार हाँडीखोला पक्कीपुलको शिलान्यास, प्रदेश सरकारले चालु वर्षमा डेढ करोड दिने

हाँडीखोला पक्कीपुलको शिलान्यास, प्रदेश सरकारले चालु वर्षमा डेढ करोड दिने

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गर्न लागेको हाँडीखोला पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको छ । हाँडीखोला र कालीदमार जोड्ने पक्कीपुलको शिल्यान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सपना देखेपछि मात्रै पूरा हुने भन्दै पहिला सपना देख्नुपर्ने बताउनुभयो ।

मनहरी गाउँपालिकाले ठूलो आँट र अठोट लिएर एक–दुई वर्षको वार्षिक बजेट बराबरको पुल निर्माण गर्ने सपना देखेसँगै काम भएको बताउनुभयो । उहाँले मनहरी गाउँपालिकाले एकै वर्षमा ५३ करोडको लागतमा ५ वटा पुलको टेन्डर गरेर सम्झौता गर्नु सपनाजस्तै भएको बताउनुभयो ।

३५ मिटर लम्बाई भएको हाँडीखोला पक्कीपुल ५ करोड ३५ लाख रुपैयाँको लागतमा २०७९ साल मंसिर १९ गते सम्पन्न गर्नेगरी गणेश जेभीसँग ठेक्का सम्झौता भएको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च गर्ने गरी डेढ करोड रुपैयाँ पुल निर्माणका लागि उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले पुल निर्माणका लागि आगामी वर्षमाको बजेटमा पनि निरन्तरता दिने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले संघीयतामा गएपछि ३ वर्षको अविधमा देशमा विकासको लहर आएको बताउनुभएको छ । मनहरी गाउँपालिकामा पनि विगत ३ वर्षमा सडकमात्रै नभएर समग्र क्षेत्रको विकास भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले अहिलेको सरकारले जति कुनै पनि सरकारले कम नगरेको दाबी गर्नुभएको छ । उहाँले यसअघिका विभन्न सरकारहरुले विकासका कामको सिन्को नभाँचेको भन्दै अहिलेको सरकारले विकासको लहर ल्याएको बताउनुभयो ।

उहाँले यो सरकारले ५ वर्ष पूरै चलाउन पाएको भए देशमा ठूला–ठूला परिवर्तन देख्न पाइने भन्दै चुनावमा होमिनुपरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रलाई बचाएको बताउनुभयो । प्रतिनिधिसभाको विघटन गरेर विदेशीको हातमा आफ्नो देशको चावी दिन प्रधानमन्त्रीले रोकेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले बैशाखमा चुनावमा जान जनतालाई तयार हुन पनि आग्रह गर्नुभयो । यसअघिका सरकारले गरेको काम भए देखाउन भन्दै अहिलेको सरकारले इतिहासमै सबैभन्दा बढी काम गरेको दाबी गर्नुभयो । उहाँले हालका प्रधानमन्त्री केपी ओलिले देशलाई मार्गनिर्देशन दिनुभएको तथा प्रदेश र स्थानीय सरकारहरुलाई पनि काम गर्न अधिकार र कार्यक्षेत्र दिएको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकार आएपछि गाउँगाउँमा विकासका कामहरु देखिन थालेको उहाँको भनाई छ ।

मुख्यमन्त्री पौडेलले ५ वर्षको सरकार अगाडि बढेको देख्न चाहे पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई नै महाअधियोग लगाउने कार्य भएको हुँदा विदेशीको हातमा देशको चावी दिनबाट रोक्न संसद विघटन गर्नुपरेको बताउनुभयो । संसद विघटनपछिको अवस्थामा पुनः जनतामा जानु नै उपयुक्त हुने देखिएको उहाँको भनाई छ । उहाँले हालको सरकारको विरोध गर्नेहरु विगतमा पटकपटक देशको प्रधानमन्त्री बने पनि विकासका कामहरु केही गर्न नसकेको भन्दै जनताले अब ती नेताहरुको मूल्यांकन गर्नुपर्ने बताउनुभयो ।

Exit mobile version