पत्रकार सम्मेलनमा रेडियो मकवानपुर तथा दिव्यताराका सञ्चालकहरु ।

हेटौंडाः हेटौंडा–२ स्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस र सहकारीले नै सञ्चालन गरेको रेडियो मकवानपुरको वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । वार्षिकोत्सवको अवसरमा आज शुक्रबार शहीद शीर्षकमा माविस्तरीय कविता प्रतियोगिताको आयोजना गरिँदैछ भने भोलि शनिबार मकवानपुरको राक्सिराङ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिनुभएको छ ।

सहकारीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आइतबार मामाघर नेपाललाई खाद्यान्न सहयोग गर्ने, सोमबार हेटौंडा नगरक्षेत्रकै दुई विपन्न परिवारलाई जस्तापाता खरिदका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ सहयोग गर्ने, मंगलबार र बुधबार दोस्रो रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिताको आयोजना गर्ने र बिहीबार वार्षिकोत्सव समापनको अवसरमा सामुदायिक सम्मान, कर्मचारी सम्मानको कार्यक्रम रहने अध्यक्ष डीनाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा रेडियो मकवानपुरका सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीको पनि उपस्थिति रहेको थियो ।