हटौंडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिवदयाल यादवको सभाध्यक्षतामा भएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले लामो समय शिक्षण सेवामा बिताएका निवृत्त शिक्षकहरुलाई राज्यले उपेक्षा गर्न नहुने भन्दै सबै शिक्षक आफ्नो हकहितका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सविन न्यौपानेले ३०–३५ वर्षसम्म शिक्षण पेसामा आवद्ध भएर निवृत्त भएका शिक्षकलाई सरकारले औषधि उपचारको व्यवस्था गर्न नसक्नु लज्जाको बिषय रहेको बताउनुभयो । राज्यले शिक्षकका लागि विशेष अस्पतालको व्यवस्था नगरेको अवस्थामा शिक्षकहरु आफैंले मिलेर सुविधासम्पन्न अस्पताल सञ्चालन गरी शिक्षकहरुको निःशुल्क उपचार गर्ने र अरुलाई सशुल्क उपचार गर्ने व्यवस्था मिलाउन सुझाव दिनुभयो । उहाँले निवृत्त शिक्षकहरुले आफ्ना ज्ञान तथा अनुभवलाई लेखरचनामार्फत् उजागर गरी क्रियाशीलता देखाउन आग्रह गर्नुभयो ।

नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका सदस्य सीताराम दाहालले निवृत्त शिक्षकहरुले सरकारबाट थप सामाजिक सुरक्षा पाउनुपर्ने माग गर्नुभयो । उहाँले शिक्षक निवृत्त भएपछि ज्येष्ठ नागरिक भत्ता, औषधि उपचार खर्च तथा सार्वजनिक यातायातमा छुट पाउनुपर्ने बताउनुभयो ।

जिल्ला अधिवेशनबाट शिवदयाल यादवको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरिएको समाजका केन्द्रीय प्रतिनिधि खेमराज सापकोटाले जानकारी दिनुभयो । समितिको उपाध्यक्ष ईन्द्रप्रसाद सञ्जेल र निर्मला रुपाखेती, सचिव अभिमन्यू गौतम, सहसचिव ईश्वरी कोइराला, कोषाध्यक्ष अर्जुन पोखरेल, सहकोषाध्यक्ष नेत्रमाया श्रेष्ठ चयन हुनुभएको छ ।