हेटौंडाः हेटौंडा उपमहानगरपलिका वडा नम्बर ४ स्थित सीमाचोकको सडकपेटीमा एकजना शारीरिक असक्त व्यक्ति बसिरहेका छन् । ती व्यक्ति हुन्, कृष्णबहादुर कार्की । कार्कीले लामो समयदेखि सडक पेटीमै मागेर आफ्नो गुजारा चलाइरहेका छन् । घाम, पानी, भोक–प्यास, चिसो रात उनका लागि नियतिजस्तै भइसकेको छ ।
सीमाचोकको सडकपेटीको छेउमा एउटा ह्वील चियर, बायाँतर्फ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको फोटोसहितको व्यानर र अगाडि पत्रिका राखेर बाटो हिँड्ने बटुवाहरुले सहयोग गर्ने अपेक्षासहित उनी सधैं सडकपेटीमै बस्ने गर्दछन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १०, भूटनदेवी घर बताउने कृष्णबहादुर कार्कीको जीवन पहिला सामान्यरुपमै चलिरहेको उहाँ बताउनुहुन्छ । डकर्मी काम गर्ने कार्की केही वर्ष पहिले काम गर्दागर्दै ३ तले घरबाट खस्न पुगेछ । खुट्टामा किल्ला गढेपछि दायाँ खुट्टा नै गुमाउनु परेको उहाँ आँखाभरी आँशु पार्दै सुनाउनुहुन्छ । घरमा कमाउने मुख्य व्यक्तिले दायाँ खुट्टा नै गुमाएर अशक्त भएपछि उहाँको जीवनमा दुःखका दिनहरु सुरु भएको उहाँले बताउनुभयो ।
कार्कीको परिवारमा श्रीमती र ४ जना छोरा छन् । श्रीमती पनि बिरामी रहेको र २ जना छोराको विद्यालय भर्ना गर्ने उमेर भएता पनि आर्थिक स्थिति कमजोर भएकाले विद्यालय भर्नासमेत गर्न नसेकेको कार्कीले बताउनुभयो । बाँकी दुईजना छोरा सानै उमेरको रहेको उहाँले बताउनुभयो ।
कार्कीको दैनिकी अहिले मागेरै बितिरहेको छ । जीवन निर्वाहका लागि उहाँ बिहानै भूटनदेवी मन्दिर परिसरमा माग्न बस्नुहुन्छ । मन्दिरमा आउने भक्तजनहरुबाट चामल संकलन गर्ने र दिउँसो सीमाचोकमा बस्ने गरेको उहाँले बताउनुभयो । दैनिक एक सयदेखि २ सय रुपैयाँसम्म संकलन हुने सहयोग रकमले गुजारा चलाउने गरेको उहाँले बताउनुभयो । भाडाको घरमा बसिरहनुभएका कार्कीको परिवारमा कमाउने अन्य व्यक्ति नहुँदा जीवन निकै कष्टकर बनिरहेको छ ।
संविधानमा मौलिक हकको रुपमा गाँस, बास, कपासको व्यवस्था गरिएता पनि वास्तविक जीवनमा भने यसको महसुस गर्न नपाएको उहाँले बताउनुभयो । आफू एक नेपाली नागरिक भएको र यो देशको एउटा मतदाता रहेको भन्दै आफूलाई परेको समस्याप्रति कसैले वास्ता नगरेकोमा कार्कीले दुःख व्यक्त गर्नुभयो । उहाँले विभिन्न व्यक्तिहरुले सहयोग गर्ने भन्दै आउने र आश्वासन दिएपनि कसैले पनि पूरा नगरेको बताउनुभयो । आफ्नो घर नभएको, दुईछाक खानाका लागि पनि समस्या रहेको र छोराहरुको विद्यालय भर्ना गर्नसमेत नसकेको भन्दै गाँस, बास, कपासका लागि सरकारसँग गुहार मागेपनि नसुनेको कार्कीले बताउनुभयो ।