Home मुख्य समाचार बागमती प्रदेशका ६३ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

बागमती प्रदेशका ६३ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

हेटौंडाः बागमती प्रदेशका ६३ हजार जनालाई पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ । पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शवबाहनका चालक/सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयम्सेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयम्सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयम्सेवकलाई खोप दिइने तयारी भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक रमेश अधिकारीले बताउनुभयो ।

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएसँगै भोलि बुधबारबाट पहिलो चरणमा देशैभर करिब ४ लाख जनालाई खोप लगाउने तयारी भएकोे हो । बागमती प्रदेशका १३ जिल्लाका लागि ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने तय भएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । खोप लगाउने संख्याको आधारमा केन्द्रहरु तय भएका छन् । उहाँले भन्नुभयो, ‘सबैभन्दा धेरै काठमाडौं जिल्लामा १२ वटा केन्द्रबाट खोप लगाइने भएको छ । ४० हजार जनालाई काठमाडौंको १२ स्थानबाट खोप लगाउने तयारी भएको हो । सबैभन्दा कम बागमती प्रदेशको रसुवा जिल्लाको ५ सय १० जनालाई खोप लगाइने तयारी भएको छ । भोलि बुधबारबाट खोप लगाउन सुरु हुनेछ । पहिलो पटक लगाएको ४ हप्तापछि पुनः दोस्रो चरणको खोप लगाउनुपर्ने निर्देशक अधिकारीले बताउनुभयो ।

बामगती प्रदेशको चितवन, ललितपुरमा ३–३ वटा केन्द्रबाट खोप लगाइने भएको छ । यस्तै, सिन्धुली, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप, भक्तपुर, दोलखा जिल्लामा २–२ वटा केन्द्रबाट खोप लगाइनेछ भने मकवानपुर र रसुवा जिल्लामा एक–एक वटा केन्द्रबाट कोभिडविरुद्धको खोप लगाइने निर्देशक अधिकारीले बताउनुभयो । उहाँले खोपको असर देखापरेमा तुरुन्त चिकित्सकको टोली उपलब्ध हुने स्थानमा मात्र खोप केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको हेटौंडास्थित कार्यालयमा ७६ हजार डोज कोरोनाको खोप आइसकेको छ । बागमती प्रदेशको ३ जिल्ला तथा प्रदेश नम्बर २ का ६ जिल्लाको लागि कोरोनाविरुद्धको खोप आएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताउनुभयो । उहाँले बागमती प्रदेशको सिन्धुली, चितवन र मकवानपुरलाई प्रदेश आपूर्ति केन्द्रबाट खोप पठाइने र तराईका ६ जिल्लामा भण्डारणको व्यवस्था नहुँदा त्यसका लागि पनि खोप हेटौंडामा राखिएको बताउनुभयो ।

बागमती प्रदेशका अन्य १० जिल्लाको लागि भने केन्द्रबाटै खोप जिल्ला–जिल्लामा पुर्‍याइएको अधिकारीले जानकारी गराउनुभयो । उहाँले खोप सुरक्षित तरिकाले राख्न नसकेमा बिग्रने भन्दै २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिएको बताउनुभयो । तापक्रम बढी भएपनि खोप बिग्रने तथा तापक्रम कम हुँदा पनि खोप बिग्रन सक्ने भएकाले यसमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।

Exit mobile version