Home अर्थ/व्यापार बैदेशिक लगानीको विरोधमा कृषक महासंघद्वारा ज्ञापनपत्र

बैदेशिक लगानीको विरोधमा कृषक महासंघद्वारा ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र हस्तान्तरण गर्दै राष्ट्रिय कृषक समूह महासंघका पदाधिकारीहरु ।

हेटौंडाः राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघीय मन्त्रिपरिषद् बैठकले कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णयको विरोध गर्दै महासंघले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत् ज्ञापनपत्र बुझाएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको व्यवस्थाविपरित ७५ प्रतिशत निर्यात गर्ने शर्तमा कृषिमा प्रत्यक्ष विदेशी लगानी खुला गर्ने निर्णयले नेपाली भूमिहीन, सिमान्त, कृषि श्रमिक, महिला र साना किसानलाई मार पर्ने भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाइएको छ । स्वदेशी कृषि उत्पादकहरुबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गराएर कृषिप्रति आकर्षित गरिनुको सट्टा प्रत्यक्ष विदेशी लगानी ल्याउँदा यहाँका स्रोत, सधानमा विदेशीको पहुँच, स्वामित्व र नियन्त्रण कायम हुनाका साथै नेपाली किसानलाई पेसाबाटै विस्थापित गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कृषिमा विदेशी लगानी खुला गर्ने निर्णयले पारिवारिक तथा आत्मनिर्भर खेती प्रणाली अवलम्बन गरी जीविका चलाउँदै आएका दुई तिहाई साना किसानको रोजगारी खोसिने भन्दै नेपाली किसानलाई आफ्नो खेतबारीबाटै पलायन गराउने गरी भएको यस निर्णय अविलम्ब फिर्ता लिन ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्रमा नेपाली किसानलाई सक्षम बनाएर उत्पादन बढाउनका लागि जिम्मेवार राज्यको दायित्व बहन साथै खेतीपाती गरी जीविका चलाउने अर्धबेरोजगार साना किसानहरुको अधिकार सुनिश्चितताको ग्यारेन्टी गर्न नेपाल सरकारसँग महासंघले अनुरोध गरेको छ ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, जिल्ला कार्यसमिति मकवानपुरका कार्यबाहक अध्यक्ष मधुसुदन अर्यालद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले किसानको समस्या सम्बोधन गर्न संघीय सरकारले उचित निर्णय लिने विश्वास दिलाउनुभयो ।

Exit mobile version