हेटौंडाः बागमती प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । बुधबार बैठक बसेर मिति नतोकी बैठक सकाइएको थियो । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र सो विषयमा प्रदेशसभाले आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरिरहेका बेला बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
कार्यव्यवस्था परामर्श समितिमा सहभागी प्रदेश सभा सदस्यहरुले प्रदेश सभा बैठकको मिति तोक्न सभामुखलाई माग गरे पनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरिरहेको भन्ने सार्वजनिक भएको थियो । बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे सुरु भएर दिउँसो साढे ३ बजेसम्म चलेको थियो । कार्यव्यवस्था परामर्श समितिबाट बैठकको मिति र कार्यसूचि तय हुन नसकेपनि सभामुखको आनाकानीको विषय सार्वजनिक भएपछि बिहीबार राती ८ बजे मात्रै प्रदेश सभा बैठक आव्हान गरिएको सूचना बागमती प्रदेश सभाको फेसबुक पेजमा प्रकाशित भएको छ ।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार कार्यव्यवस्था परामर्श समितिले बैठकको मिति र कार्यसूचि तय नगरे पनि बिहीबार साँझ मात्रै बैठक आव्हान गर्न सभामुख सानुकुमार श्रेष्ठले जानकारी गराउनुभएको बताउनुभयो । शुक्रबार १ बजे बस्ने प्रदेश सभाको बैठकको कार्यसूचि शुक्रबार बिहान १० बजे निश्चित हुने प्रदेश सभाका सचिव खड्काले बताउनुभएको छ ।