हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–३ बसामाडी बस्ने ईन्द्रबहादुर बस्नेतलाई सोमबार कृत्रिम खुट्टा हस्तान्तरण गरेको छ । वर्षौंदेखि घुँडामुनीबाट एउटा खुट्टा गुमेकाले सजिलैसँग हिँड्डुल गर्नका लागि समस्या भएका बस्नेतलाई उपमहानगरले कृत्रिम खुट्टा हस्तान्तरण गरेको हो ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बस्नेतलाई कृत्रिम खुट्टा हस्तान्तरण गर्नुभएको हो । कृत्रिम खुट्टा हालेपछि हिँड्डुल गर्न सहज भएको छ । पहिले प्रयोग गर्दै आएको कृत्रिम खुट्टाले निकै दुख्ने र काम गर्नका लागि समस्या भएको बस्नेतले बताउनुभयो ।

मेयर महतले कृत्रिम खुट्टा हस्तान्तरण गरेपछि बस्नेत निकै खुसी समेत हुनुभएको छ ।
उपमहानगरपालिकाले उहाँसँगै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर, बैशाखी, सेतो छडी लगायतका सामग्री वितरण गर्दै आएको छ ।

मेयर महतले हेटौंडा उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बाँडनेदेखि आवश्यक सहयोग सामग्री वितरण गर्दै आएको बताउनुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाले मानवसेवा आश्रमलाई १० थान ह्वीलचियर हस्तान्तरण गरेको थियो ।