मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन ।

हेटौंडाः हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालले ७ सैय्या (बेड) को अति सघन उपचार कक्ष (आइसियु) सहित ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको १० वर्षपछि २५ बेडको सहकारी अस्पतालले ७ बेडको आइसियु, ३ बेडको पिआईसियू र १ बेडको एनआईसियू सञ्चालनमा ल्याइएको सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिनुभएको छ । आइसियु र ट्रमा सेवा अस्पतालले नयाँ भवनबाट प्रदान गर्न लागेको हो ।

एक वर्षको प्रयासपछि करिब दुई करोड रुपैयाँ लगानी थप गरेर सेवा विस्तार गर्न लागेको अध्यक्ष महर्जनको भनाइ छ । यस्तै हाडजोर्नीसम्बन्धी स्वास्थ्य उपचारका लागि सुविधासम्पन्न ट्रमा सेन्टरलाई स्थापित गरिएको महर्जनले जानकारी दिनुभयो । बेड संख्या वृद्धि गरी ५० बेडको सेवा विस्तार एवम् व्यवस्थित बनाउने योजना राखे पनि कुन निकायले ५० बेडसम्मका स्वास्थ्य संस्थालाई अनुमति दिने भन्ने कानुनमा स्पष्ट व्यवस्था नहुनुले पनि समस्या भएको बताइएको छ ।

नयाँ भवनलाई ब्लक बी को रुपमा स्थापना गरेको र बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष महर्जनले जानकारी दिनुभएको छ । अस्पतालले अहिले विशेषज्ञ चिकित्सकबाट ११ वटा ओपिडी सञ्चालन गरिरहेको छ । विशेषज्ञबाट मनोचिकित्सा सेवा समेत सञ्चालन गरिरहेको अस्पतालले निकट भविष्यमै विशेषज्ञ दन्त चिकित्सकबाट सेवा सुरुवात गर्ने जनाएको छ । हेटौंडालाई प्रदेशको राजधानी घोषणा भएसँगै सहकारी अस्पतालले सेवा विस्तारको योजना बनाएर अहिले कार्यान्वयनको चरणमा आइपुगेको बताइएको छ ।