हेटौंडाः वि.सं २०७८ बैशाख १७ र २७ गते निर्वाचनको मिति तय भएसँगै मकवानपुरमा यसको तयारी सुरु गरिएको छ । निर्वाचनको तयारी सुरु गरिसकेको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले जानकारी दिनुभयो ।
सोमबार हेटौंडामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदानस्थल पुनरावलोकन समितिको बैठक बसेको थियो । बैठकमा मकवानपुरका स्थानीय तहहरुका प्रमुख, जिल्ला सुरक्षा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, निर्वाचन कार्यालय मकवापनुरका प्रमुख गोविन्द पौडेललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर जिल्लामा २०७४ सालमा भएको निर्वाचनमा १६४ मतदान केन्द्र तोकिएको थियो । भोटर संख्या तथा दुरीको हिसाबले मतदान केन्द्र तोकिने गरेको छ । यसअघिको निर्वाचनमा निर्वाचन आयोगले स्थानीयस्तरको वडाका राजनीतिकर्मीहरुसँग छलफल गरेर मतदान केन्द्र तोक्ने कार्य भएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मतदान केन्द्रको मापदण्ड निर्वाचन कार्यालयमा पठाइसकेको निर्वाचन आयोग मकवानपुरका प्रमुख पौडेलले बताउनुभयो । उहाँले मतदान केन्द्रको मापदण्डअनुसार मतदानस्थल परिवर्तन हुनसक्ने भए अर्को बैठकमा पेश गर्ने सोमबार बसेको समितिको बैठकले निर्णय गरेको बताउनुभयो । माघ १० गतेसम्म स्थानीय तहका राजनीतिक व्यक्ति, स्थानीयसँग छलफल गरेर मापदण्डअनुरुप भए मतदान केन्द्र थपघट तथा फेरबदल हुनसक्ने उहाँले बताउनुभयो ।
स्थानीय तहबाट मतदान केन्द्र पायक पर्ने स्थानमा भए अर्थात् मापदण्ड पुग्ने भए मतदान केन्द्र परिवर्तनलाई जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले निर्वाचन आयोगलाई सिफारिस गर्नेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मतदान केन्द्र पुनरावलोकन समितिको बैठक अब माघ १० गतेपछि बस्ने भएको छ ।