हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले राजश्व कार्यालयका प्रमुखहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार संघको सभाहलमा भएको कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डे तथा आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत शालिग्राम आचार्यको स्वागतसँगै कर तथा मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) सम्बन्धी अन्तरक्रियासमेत गरिएको हो ।

संघका कार्यबाहक अध्यक्ष माधव न्यौपानेले कोभिड तथा लकडाउनको असहज परिस्थितिमा पनि व्यवसायीले कर बुझाएको बताउँदै करसम्बन्धी समस्या समाधानका लागि संघले निरन्तर पहल गर्ने जानकारी दिनुभयो । राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डेले राजश्व कार्यालयले राजश्व बढाउनकै लागि कसैलाई जरिवाना नगर्ने भन्दै भीसीटीएस थप आर्थिक दायित्व नभएकाले सबैलाई यसको पालना गर्न आग्रह गर्नुभयो ।

आन्तरिक राजश्व कार्यालय हेटौंडाका कर अधिकृत बिनोदकुमार कार्कीले करछुट सम्बन्धमा आर्थिक ऐन २०७७/७८ मा भएका व्यवस्थाहरुबारे तथा राजश्व अनुसन्धान कार्यालयका होमबहादुर पाण्डेले भीसीटीएससम्बन्धी प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका सुमन बुढाथोकी, रोविन शाह, सुमन आचार्य तथा संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, उपाबध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, सचिव सन्तोषकुमार अर्याल, कोषाध्यक्ष अनिल अग्रवाल, कार्यसमिति सदस्यहरु कुलप्रसाद चौलागाई, माधव ज्ञवाली, वस्तुगत संघका प्रतिनिधिहरु तथा विभिन्न व्यवसायीहरुकोे सहभागिता रहेको थियो ।