विरोधसभामा सहभागी कांग्रेस कार्यकर्ता ।

हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले लोकतन्त्रमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘ख’ को आयोजनामा शनिबार हेटौंडाको बुद्धचोकमा आयोजित विरोधसभामा बोल्दै केसीले पार्टीभित्रको आन्तरिक कलह र व्यक्तिको लहडका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई नै धरापमा पारेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनसहित सभा गरेको छ । हेटौंडाको सभालाई सम्बोधन गर्दै कांगे्रस केन्द्रीय सदस्य केसीले कांग्रेसको नेतृत्वमा प्राप्त उपलब्धिलाई कम्युनिष्टहरुले संकटमा पार्न खोजेको भन्दै अब कम्युनिष्टहरुलाई इतिहासमा सीमित पार्ने बेला आएको बताउनुभयो ।

वर्तमान सरकारले तीन वर्षको अवधिमा गरेका भ्रष्टाचारलाई ओझेल पार्न सर्वसत्तावादतर्फ उन्मुख भएका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएको दावी गर्दै केन्द्रीय सदस्य केसीले निरंकुशताको सोच बोकेर लोकतान्त्रिक शासन पद्दति फस्टाउन नसक्ने बताउनुभयो । संसद पुनस्थापना र निर्वाचन दुबै नहुने ठोकुवा गर्दै उहाँले भ्रष्टाचार र मनपरीतन्त्रविरुद्ध कांग्रेस जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ‘ख’का सभापति ताराप्रसाद चौलागाईंको अध्यक्षतामा भएको विरोधसभामा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माइकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोइराला, नेविसंघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, चम्फुरत्न लामालागयतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।