हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ ९ गतेभित्रै अविश्वासको प्रस्तावको टुंगी लाग्ने बताउनुभएको छ । प्रदेश सरकारले अन्धभक्त जस्तो भएर विकास निर्माणको कामबाहेक अन्त ध्यान नलगाएको भन्दै मुख्यमन्त्री पौडेलले विकास गर्न स्पष्ट धारणा र गति प्रदेश सरकारसँग भएको दावी गर्नुभयो । उद्योग संघ मकवानपुरको साधारणसभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले हेटौंडा प्रदेशको राजधानी घोषणा भएसँगै विकासको गति तीव्र हुनुले प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार गठन भएको तथा संघीयता लागू भएको ३ वर्ष भए पनि प्रदेश सरकार, स्थानीय सरकारले कति काम गर्ने भन्नेबारे अझै द्विविधा रहेको बताउनुभएको छ । औद्योगिक क्षेत्र प्रदेश सरकार मातहतमा नआउँदा आफूले बोलेका कुराहरु औद्योगिक क्षेत्रमा ल्याउनेतर्फ काम गर्न नसकिएको भन्दै उहाँले माफीसमेत माग्नुभएको छ । उहाँले साना उद्योगीका लागि प्रदेश सरकारले ३ अर्ब ऋण दिने व्यवस्था गरेको बताउनुभयो । प्रदेश सरकार मातहतमा नआएका कारण हेटौंडाका उद्योगहरुका लागि प्रदेश सरकारले गर्न चाहेर पनि राम्रा काम गर्न नसकेको भन्दै प्रदेश सरकार मातहत औद्योगिक क्षेत्र आएपछि धेरै गर्न सकिने बताउनुभयो ।
उहाँले प्रदेशको राजधानी हेटौंडामा भएसँगै हेटौंडामा धेरै विकास निर्माणका कामहरु पनि आएको बताउनुभयो । प्रदेशको राजधानी हेटौंडा कायम भएपछि हेटौंडा अस्पतालाई ३ सय सैय्याको अस्पताल, मेडिकल कलेजको सुरुवात भएको, पञ्चालयकालदेखि रुग्ण गौरीटार रंगशाला, औद्योगिक क्षेत्रलाई चाहिने न्यूनतम प्राविधिक जनशक्ति पूरा गर्न सीटीईभीटीको पूर्वाधार निर्माण भइरहेको तथा सुरुङमार्ग बनाउन ग्लोबल टेण्डर निकाल्ने अन्तिम तयारी भएको बताउनुभयो । प्रदेश सरकार नयाँ संरचना भएका कारण धेरै अन्यौलता भएपनि केन्द्र सरकारले पनि प्रदेशलाई कति अधिकार दिने भन्नेमा अन्यौलता देखिएको कारण सोचेको जस्तो गति सरकारले लिन नसकिएकोमा मुख्यमन्त्री पौडेलले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अहिलेको संविधानमा ५ वर्ष नभई संसदलाई तलमाथि गरेर चुनाव गर्न नपाइने भनेर स्पष्ट बनाएको बताउनुभयो । उहाँँले जनताले ५ वर्षका लागि चुनेर पठाएको जनताको म्यान्डेटप्राप्त बहुमतको सरकारले पनि चुनाव र अदालत भनेर राजनीतिक अस्थिरतातर्फ देशलाई धकेलेको बताउनुभयो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाई अर्कै दिशातर्फ धकेल्नुभएको उहाँको संकेत थियो । नेता बानियाँले अहिले भएको संसद विघटनले सबैतिर अस्थिरता र अन्यौलता छाएको बताउनुभयो । यस्तो अवस्थामा पनि जनप्रतिनिधिहरुले निकास दिनुपर्ने भन्दै नदिएमा स्वतन्त्र न्यायपालिकाले भए पनि निकास दिनुपर्ने बताउनुभयो ।
साधारणसभाकै अवसरमा उद्योग संघ मकवानपुरले राक्सिराङ र कैलाश गाउ“पालिकाको भार्ताका ३० चेपाङ परिवारलाई जाडोमा न्यानोका लागि कम्बल, खाद्यान्न र सरसफाइका सामग्री वितरण गरेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षतामा भएको साधारणसभामा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारी, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, संविधानसभा सदस्य अनन्त पौडेललगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थिति रहेको थियो ।