Home मुख्य समाचार बालिका शक्ति परियोजनाको सामाजिक परीक्षण

बालिका शक्ति परियोजनाको सामाजिक परीक्षण

हेटौंडाः ग्रामीण महिला सेवा केन्द्रले प्लान इन्टनेशनलसँगको सहकार्यमा सञ्चालन गरेको बालिका शक्ति परियोजनाको सामाजिक परीक्षण कार्य शुक्रबार गरेको छ । ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको अध्यक्षता तथा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

बालिका शक्ति परियोजनाका संयोजक कमल फूँयालले परियोजनाका बारेमा प्रस्तुती गर्नुभएको थियो । सन् २०२० मा गरेको एक वर्षको कार्यका बारेमा जानकारी गराउनुहुँदै परियोजना संयोजक फूँयालले बालिका शक्ति परियोजनाबाट लाभान्वित बालिकाहरुले बालविवाह रोक्न सफल भएको, उनीहरुको व्यक्तित्व र नेतृत्व क्षमता विकास भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पारदर्शिताका लागि सामाजिक परीक्षण महत्वपूर्ण भएको र ग्रामीण महिला सेवा केन्द्रको कार्य सराहनीय भएको बताउनुभयो ।

परियोजनाको सामाजिक परीक्षणको अवसरमा संस्थाकी अध्यक्ष उर्मिला कार्कीले महिला सशक्तीकरणका लागि दुई दशकदेखि क्रियाशील ग्रामीण महिला सेवा केन्द्रका अगुवाहरु अहिले स्थानीय तहका उपप्रमुखदेखि कार्यपालिका सदस्य र वडा सदस्यको रुपमा निर्वाचित भएर जनताको सेवा गरिरहेको बताउनुभयो । परियोजनाकी लेखा प्रमुख शर्मिला मगरले एक वर्षको अवधिमा एक करोड तीन लाख ४६ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version