विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष दामोदर खनालसहित अन्य अतिथिहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जयकाली आधारभूत विद्यालयका एक सयजना छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालयको ३० औं अभिभावक भेलामा बिहीबार बकैया गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले बानियाँबाट सहयोगस्वरुप प्राप्त ट्रयाक–सुट हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष फूलबहादुर भोम्जन, बकैया गाउँपालिकाका शिक्षा शाखा अधिकृत आइतराम तामाङ, विद्यालयका प्रधानाध्यापक गंगाराम चौधरीलगायतको आतिथ्य रहेको थियो ।

विपन्न विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडा नहुँदा विद्यालय आउन कठिनाई भएको खबर पाएपछि नेता बानियाँले ट्रयाक सुट सहयोग उपलब्ध गराउनुभएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । न्यानो कपडा वितरण कार्यक्रममा समाजसेवी भीम लामाले विद्यालयलाई दुई थान सिलिङ पंखासमेत सहयोग गर्नुभएको छ ।