हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले केन्द्रीय संघसँगको सहकार्यमा सहकारीका व्यवस्थापक तथा लेखा शाखाका कर्मचारीका लागि तीनदिने लेखामानसम्बन्धी तालिमको आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको तालिम शुक्रबार सकिएको छ । जिल्लाका २८ वटा सहकारीका ३० जनाको सहभागिता रहेको तालिममा चार्डर्ट एकाउन्टेन्ट सन्तोष बस्यालले सहजीकरण गर्नुभएको थियो ।
शुक्रबार तालिमको समापन गर्दै सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । समापनको क्रममा संघकी अध्यक्ष कल्पना श्रेष्ठले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लकडाउनयता पहिलो पटक भौतिकरुपमै सहभागी भई तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । सहकारीको उचित व्यवस्थापनका लागि कर्मचारीको क्षमता विकास गर्न संघले आवश्यक तालिम आगामी दिनमा पनि आयोजना गर्ने उहाँको भनाइ छ ।