सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुहुँदै वडा अध्यक्ष टिकाप्रसाद दाहाल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ मा सामुदायिक स्वास्थ्य इकाईको भवन शिलान्यास गरिएको छ । सोमबार वडा अध्यक्ष टिकाप्रसाद दाहालले स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभएको हो । २२ लाख रुपैयाँ लागतमा एक तल्लाको ४ कोठे भवन निर्माण गर्न लागिएको वडा सचिव सागर लामाले जानकारी दिनुभएको छ ।

मकवानपुरगढी गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएकै वर्ष सबै वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको हो । अहिले भाडाको घरमा सञ्चालन भइरहेको स्वास्थ्य इकाईका लागि पालिकाले प्रदेश र केन्द्र सरकारको समेत सहयोगमा भवन निर्माण गर्न सुरु गरेको हो । स्वास्थ्य इकाई निर्माण गर्ने जग्गा स्थानीय कृष्णप्रसाद सुवेदीले दान गर्नुभएको हो । करिब २० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा सुवेदीले पालिकालाई दान गर्नुभएको हो । शिलान्यास कार्यक्रममा वडा सदस्य र टोल विकास संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।