हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा ।

हेटौंडाः नेपालको संविधान २०७२ ले जनप्रतिनिधिको रुपमा महिलाको उपस्थितिलाई सुनिश्चित गरेको छ । महिला प्रतिनिधि छनोट गर्न महिला–महिलाबीच नै प्रतिस्पर्धा गराउने व्यवस्थासँगै देशभर हजारौंको संख्यामा वडा सदस्य, वडा अध्यक्ष, पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रदेश सभा सदस्य, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य हुँदै राष्ट्रपति समेत महिला नै निर्वाचित भएका छन् ।

हजारौंको संख्यामा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएसँगै महिला सशक्तीकरणमा महत्वपूर्ण संकेतहरु देखिने गरेका छन् । यसैसन्दर्भमा हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले महिला जनप्रतिनिधिको क्षमता विकासमा समेत योगदान पुग्ने गरी सामुदायिक रेडियो रेडियो निकास ९३.४ मेगाहर्जसँगको सहकार्यमा हरेक सोमबार साँझ ७ः०० बजेदेखि ७ः३० सम्म रेडियो कार्यक्रम ‘महिला जनप्रतिनिधि’ प्रसारण गर्दैछ ।

आज मिति २०७७ साल पुस १३ गते सोमबार साँझको पहिलो अंक हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामासँग कुराकानी गरिएको छ । महिला जनप्रतिनिधि उम्मेद्वारको मनोनित हुने अवस्थादेखि अहिले करिब साढे ३ वर्षको अवधिमा उपमेयरको अनुभव, नगर कार्यपालिकाका सदस्य महिला तथा वडा सदस्यको रुपमा क्रियाशील महिला जनप्रतिनिधिको विषयमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ ।

रेडियो कार्यक्रम ‘महिला जनप्रतिनिधि’ रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।