हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनालगायतका २२ बुँदे मागसहित राप्रपा मकवानपुरले ज्ञापनपत्र बुझाएको हो । राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
प्रधानमन्त्रीको असंवैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनपश्चात् देश अत्यन्त गम्भीर संवैधानिक, राजनीतिक संकटमा फसेको भन्दै ज्ञापनपत्रमा राप्रपाले उठाएका विषयको सम्बोधनमा सरकार गम्भीर बन्न आग्रह गरिएको छ । ज्ञापनपत्र बुझाउनुअघि राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी, नवराज विष्ट, बालकृष्ण कार्कीलगायतको नेतृत्वमा राप्रपा मकवानपुरको पार्टी कार्यालयबाट निस्किएको र्यालीले हेटौंडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको थियो । राप्रपाले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।