हेटौंडाः हेटौंडा–१८ हर्नामाडीस्थित ज्योति माध्यमिक विद्यालयमा ‘मूर्तिकला कार्यशाला–२०७७’ सुरु भएको छ । आइतबार हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँले कार्यशालाको उद्घाटन गर्नुभएको हो । ५४ औं विद्यालय दिवसको अवसरमा कार्यशालाको सुरुवात भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।
विद्यालयले ‘कलाका लागि कला’ भन्ने नाराका साथ आठ दिने मूर्तिकला कार्यशाला सुरुवात गरेको अध्यक्ष रम्तेलले बताउनुभयो । विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा ललितकला विषय अन्तर्गत मूर्तिकला र चित्रकला विषय अध्यापन गराउने उद्देश्यले कार्यशाला सुरुवात गरिएको उहाँको भनाइ छ । कार्यशालामा २ जना स्थानीय र ८ जना राष्ट्रिय कलाकारहरुको सहभागिता रहने अध्यक्ष रम्तेलले बताउनुभयो । आगामी वर्षदेखि ललिकला विषयको कक्षा सञ्चालन गर्ने विद्यालयको तयारी लगभग अन्तिम भएको उहाँले जानकारी गराउनुभयो ।