हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडा कार्यालयले शुक्रबार स्वास्थ्य स्वयम्सेविकाको विदाई र स्वागत कार्यक्रम गरेको छ । सेवानिवृत्त हुनुभएकी भागिरथी चालिसेलाई विदाई गर्नुका साथै नवनियुक्त सुनिता तामाङलाई स्वागत गरिएको छ । वडा अध्यक्ष किताप सिं लामा एवम् वडा सदस्यहरुले स्वास्थ्य स्वयम्सेविकाको स्वागत तथा विदाई गरेका हुन् ।
२० वर्ष सेवा गर्नुभएकी चालिसेलाई विदाई गरिएको हो । १० नम्बर वडामा ३ जना स्वास्थ्य स्वयम्सेविका छन् । स्वास्थ्य स्वयम्सेविकाले नियमित खोप कार्यक्रम सञ्चालन, वडामा गर्भवती, सुत्केरी महिलाको अभिलेखीकरण, परिवार नियोजनबारे परामर्श सेवा प्रदान गर्नुका साथै परिवार नियोजनका अस्थायी साधन वितरण, क्षयरोगसम्बन्धमा अभिमुखीकरण तथा शंकास्पद व्यक्तिलाई स्वास्थ्य परीक्षणमा प्रेरित गर्ने लगायतका काम गर्ने गरेका छन् । वडामा नियुक्त भएका स्वास्थ्य स्वयम्सेविकाहरुले टोल विकास संस्थालाई आधार मानेर कार्यविभाजन गर्ने गरिएको छ । स्वास्थ्य स्वयम्सेविकाले वार्षिक पोशाकभत्ता १० हजार रुपैयाँ, मासिक ३ हजार रुपैयाँ भत्ता र मासिक बैठकमा सहभागी हुँदा एक हजार रुपैयाँ भत्ता पाउने गरेका छन् ।