हेटौंडाः जिल्ला समवन्य समिति (जिसस) मकवानपुरको आयोजनामा व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन सम्बन्धमा शुक्रबार छलफल भएको छ । जिसस मकवानपुका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मानबाहदुर बीके, जिल्ला समन्वय समिति उपाध्यक्ष भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लामा विभिन्न प्रकारको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालनबारे चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विसुकुमार केसीले व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालनमा सरकारको भूमिका र अनुभव, केन्द्रको प्रकृति, केन्द्रले उपलब्ध गराउने सुविधाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रविन्द्रकुमार न्यौपानेले व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन अनुभव आदानप्रदानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि बस्नेतले राजनीतिक परिवर्तन भइरहे पनि स्थानीय सरकार स्थायी भयो भने यस्ता कामले निरन्तरता पाउने र काम अघि बढ्ने बताउँदै केन्द्रको सफलताको शुभकामना दिनुभयो । उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले उद्योग दर्तासम्बन्धी समस्या रहेको भन्दै नीतिगत सुधारको आवश्यता रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपालको संविधानले पनि समृद्ध नेपालको कल्पना गरेको भन्दै समृद्ध नेपाल आर्थिक समृद्धिले मात्र सम्भव रहेको बताउनुभयो । उहाँले उद्योग, व्यवसायको सम्वद्र्धन र व्यवसायीको सम्वद्र्धन, नवप्रवद्र्धन, नयाँ सोचमा नेपाल अलि पछि परेको बताउनुभयो । अहिलेको अवस्थामा तीनै तहका सरकार व्यवसाय प्रवद्र्धनका लागि मिलेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

जिसस मकवानपुर प्रमुख रघुनाथ खुलालले सरकारी निकाय तथा अन्य क्षेत्रबाट छुट्टाछुट्टैरुपमा प्रवाह हुने सेवा, क्षमता विकास कार्यक्रम, पुूजी प्रवाहलगायतका क्रियाकलापले नवउद्यमीलाई उचित वातावरण सृजना गर्न नसक्ने हुनाले एकै स्थानमा यस्तो सेवा प्रदान गरी नयाँ विचार र व्यावसायिक योजनालाई फल्ने वातवरण सृजना गर्ने उद्देश्यले व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्न लागिएको बताउनुभयो । केन्द्रले नयाू उद्यमीहरुलाई काम गर्ने ठाउँ र सहयोगी वातावरण प्रदान गरी सफल उद्यमी बन्न सघाउने उहाँले बताउनुभयो ।

केन्द्रले निःशुल्क कार्यालय क्षेत्र, इन्टरनेट सेवा, आधारभूत सचिवालय सेवा, सञ्जालीकरण, व्यवसाय प्रशासन सेवामा सहजीकरण, पुूजीमा पहुूच, परीक्षण सेवामा सहयोग, प्रमाणिकरण र सर्टिफिकेशनमा सहयोग, मेन्टरिङ, ब्राण्डिङ र बौद्धिक सम्पत्ति सृजनामा सहजीकरणलगायतका सेवाहरु प्रदान गर्ने जिसस मकवानपुरका प्रमुख खुलालले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका चितवन, रसुवा, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपाल्चोक, धादिङलगायतका जिल्लाहरुको जिल्ला समवन्य समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।