हेटौंडाः आउँदो माघ महिनामा हेटौंडामा राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । हरेक बर्ष हेटौडामा आयोजना गरिदै आएको हेटौडा भेट्रान्स कप फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखी १० गतेसम्म हुने भएको हो ।

देशभरका १६ टिमले भाग लिने भेट्रान्स कप फुटबलमा ४० वर्ष माथिका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने हेटौंडा भेट्रान्सका अध्यक्ष दिपक बज्राचार्यले बताउनुभयो । यस्तै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ हुने खेलमा ११ लाख खर्च हुने अनुमान गरिएको हेटौंडा भेट्रान्सका कार्यक्रम संयोजक कबिन सांगामीले बताउनुभयो ।

खेलमा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भएका छन् । खेलको सर्वश्रेष्ठ कोच पुरस्कारले ५ हजार, सर्वश्रेष्ठ फरवार्ड पुरस्कार, सर्वश्रेष्ठ गोलकिपर, सर्वश्रेष्ठ डिफेन्स तथा मिडफिल्डरले नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दी म्यानले ट्रफि प्राप्त गर्ने भएका छन् भने पुरै खेलको म्यान अफ दी म्यान बन्ने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने भएको खेल सयोजक कबिन सांगामीले बताउनुभयो ।