हेटौंडाः अमेरिका जानको लागि डीभी फाराम भर्न अनिवार्य राहदानी चाहिन्छ । डीभी फारम भर्न राहदानी आवश्यक भएपछि मकवानपुरमा राहदानी लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्षको ५ महिनामै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राहदानी लिनका लागि एक हजार ६ सय जनाले आवेदन दिएका छन् ।
कोरोना महामारीको समयमा पनि विदेश जानको लागि जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनेहरुको संख्या उल्लेख्य थियो । नेपालमा प्रायः दशैं-तिहारको समयमा खुल्ने ईडीभी भर्नका लागि राहदानी अनिवार्य भएपछि राहदानी बनाएर राख्नेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय मकवानपुरको राहदानी फाँटका उर्मिला पौडेलले बताउनुभयो ।
पछिल्लो समय युवाहरु कपल भिसामा विवाह नै नगरी डीभी भर्ने गरेको पाइएको छ । डीभी परे विवाह गरेर कपल भिसामा जानका लागि डीभी भरेको हेटौंडाका युवा राम विश्वकर्माले जानकारी दिए । उनले अमेरिका जान पाए भाग्य चम्कने भन्दै राहदानी बनाएरै डीभी भरेको बताएका छन् । यस्तै लकडाउनको समयमा साताको एक दिनमात्र दुईवटा स्थानीय तहका नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा अहिले राहदानीका लागि सबैदिन सबैलाई खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमबार वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर आइपुगेका हेटौंडा-१५ रातोमाटेका युवा मनोज सिन्चुरीले गुनासो पोखेका छन् । नेपालमा थोरै पैसामा काम गरेर जीविका धान्न धौ-धौ भएपछि विदेशिनुको विकल्प नदेखेको भन्दै राहदानी बनाउन लाइन लागेको बताउनुभयो । विदेश जाने रहर नभएता पनि आर्थिक अवस्था कमजोर भएकाले युवाहरु विदेश जान बाध्य भएको उहाँले बताउनुभयो । लकडाउनअघि नै विदेश जाने सोच बनाए पनि हाल सरकारले विदेश जाने प्रक्रिया खुकुलो बनाएका कारण राहदानी बनाउन आएको सिन्चुरीले बताउनुभयो ।
यस्तै बकैया-५ का मिलन भोम्जनले राहदानी नभएकै कारण यस वर्ष डीभी भर्न नपाएको भन्दै अर्को वर्ष डीभी खुलेपछि भर्नका लागि राहदानी बनाउन आएको जानकारी दिनुभएको छ । राहदानी बनाउन आउनुभएका मनहरी गाउँपालिकाका समिर वाइवा भन्नुहुन्छ, अहिले राहदानीको केहि काम नभए पनि कुनै बेला काम लाग्न सक्छ भनेर बनाउन आएको हुँ । राहदानी बनाउन आएकी सुशीला विश्वकर्माले दाइ विदेशमा भएकाले आफू पनि उतै काम गर्न जान लागेकाले राहदानी बनाउन आएको बताउनुभयो । मकवानपुर जिल्लाका विभिन्न स्थानबाट राहदानी बनाउन आएकाहरुले नेपालमा श्रमिकको ज्याला एकदमै न्यून भएको र पारिवारिक आवश्यकता पूरा गर्न नसकेका कारण विदेशिनुपर्ने बताएका छन् । पछिल्लो समय मकवानपुरलगायत देशभरका युवा जनशक्तिका लागि विदेश प्रिय बनिरहेको छ । विदेशमा श्रमको मूल्य सोचेजस्तो हुने भएपछि नेपालभन्दा विदेशतिर लगाव बढ्दो छ ।
वैदेशिक यात्राका लागि कोरियन भाषा सिक्दै गरेको जंग कुँवर सुनाउनुहुन्छ- दक्षिण कोरियामा महिनाको २ लाख कमाई हुन्छ । नेपालमा २० हजार कमाउन मुस्किल छ । कमाए पनि जोगाउन मुस्किल छ । युवाहरुको मस्तिष्कमा नै छिट्टै धेरै पैसा कमाउने मोह बढेको उहाँले बताउनुभयो । उमेरमै केही पैसा कमाएर घरजम गर्ने र भविष्य सुनिश्चित बनाउन विदेश जान भाषा सिकिरहेका उहाँको भनाई छ । भाषा परीक्षा दिन पनि राहदानी आवश्यक भएपछि राहदानी बनाउन सोमबार प्रशासन कार्यालयमा आएको कुँवरले बताउनुभयो ।