हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रहरीले वर्षेनि गाँजा तथा अफिम खेती नष्ट गर्दै आएको छ । दैनिकरुपमा १० देखि ४० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले विवरण सार्वजनिक गर्ने गरेको छ ।
तर के वास्तविकरुपमै प्रहरीले ३५ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती एकैदिन नष्ट गरेको हुन्छ त ? प्रहरीले राक्सिराङमा जग्गा नाप्न अमिनी लिएर गएका हुन्छन् या अनुमानकै भरमा यति-उति गाँजा नष्ट गरियो भनेर प्रचार गरिरहेको छ ? यस्ता प्रश्नहरु धेरैको चासोको विषय बनेको छ । फाट्टफुट्टरुपमा कहिलेकाहीँ गाउँ पुग्ने पत्रकारको टोली पनि रिपोर्टिङका लागि फिल्डमा पुगेका हुन्नन् । तर पनि प्रहरीले दिएको तथ्यांकलाई नै विश्वास गरेर समाचार सम्प्रेषण भइरहेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ-३ को लावती, पलाँसे र कैलाशमा गरेर ३२ बिगाहा ५ का क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको विवरण सार्वजनिक गर्यो । तर, राक्सिराङ-३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानले गाँजा खेती नष्ट गर्न प्रहरीले वडासँग समन्वय नगरेको भन्दै राक्सिराङ-३ मा करिब १५ बिगाहा क्षेत्रफलमा मात्रै गाँजा खेती नष्ट गरेको बताउनुभयो ।
आफ्नो वडामा ठूलो परिमाणमा गाँजा नलगाएको भन्दै स्थानीयको आम्दानीको स्रोत नभएपछि गाँजा लगाउनुपर्ने बाध्यता रहेको वडा अध्यक्ष स्याङ्तानले जानकारी दिनुभयो । कोरोनाको जोखिममा विदेशबाट युवाहरु घर फर्के, कामधन्दा थिएन, विदेश जान पाइएन । घरमा आम्दानीको स्रोत नभएपछि गाँजा नलगाए परिवार भोकै हुन्छन्, स्याङ्तानले भन्नुभयो- यस्तो अवस्थामा ३ नम्बर वडाका स्थानीयहरुले नै गाँजा खेती गरेका छन् ।
स्थानीय तहले मात्रै यसको समाधान गर्न नसक्ने भन्दै वडा अध्यक्ष स्याङ्तानले प्रहरीले गरेको कामको निन्दा गर्नुभएको छ । आइतबार गाँजा फँडानी गर्न पुगेको प्रहरीसँग जनप्रतिनिधिसहित स्थानीयहरुले छलफल गरेपनि प्रहरीले मुखमा आएको फलको सत्यानाश गरेको उहाँले बताउनुभयो । गाँजा बेचेर चामल किन्ने सोच बनाएका किसानहरु निकै चिन्तित भएको वडा अध्यक्ष स्याङ्तानको भनाई छ ।
सरकारले किसानहरुलाई कुनै विकल्प नै नदिई गाँजा फाँड्नु गलत भएको भन्दै स्थानीयहरुले अवरोध गर्न खोजेपनि आइतबार प्रहरीको टोलीले गाँजा खेती नष्ट गरेको थियो । यसपटक प्रहरीले गाँजा फँडानीका लागि ठूलो संख्यामा प्रविधिसहितको प्रहरी टोली परिचालन गरेपछि सबै गाँजा खेती नष्ट हुने भयो भनेर स्थानीयहरु त्रसित बनेका छन् । राक्सिराङका स्थानीय बासिन्दा गाँजा फँडानीका लागि प्रहरी राक्सिराङमै केन्द्रित बनेकोमा रुष्ट बनेका छन् । मकवानपुरको कैलाश, बकैया, बागमती सबैतिर गाँजा लगाउने गरेको भए पनि प्रहरीले राक्सिराङमै मात्र किन गाँजा खेती देखिरहेको छ ? स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई प्रश्नसमेत गरेका छन् ।
वडा अध्यक्ष स्याङ्तानले राक्सिराङको वडा नम्बर ३ मा गाँजा खेतीको विकल्प रहेको बताउनुभयो । तर, राक्सिराङ गाउँपालिकाले मात्रै चाहेर गाँजा खेती रोक्न नसक्ने बताउनुभयो । यसका लागि प्रदेश सरकार र संघीय सरकारले पनि सहलगानी गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो वडाका हरेक परिवारका एकजना सदस्यलाई रोजगारी दिन सकेमा स्वतः गाँजा खेती बन्द हुने बताउनुभयो । रोजगारी र आम्दानीको स्रोत सुनिश्चित भएमा फलफूल खेती, दूध उत्पादन, तरकारी खेतीलगायतका व्यावसायिक कृषिबाट स्थानीयले राम्रो आम्दानी गर्नसक्ने उहाँको भनाई छ । गाउँपालिकाले सिमित बजेट सिलिङ पठाएपछि वडामा त्यतिमात्र खर्च गर्नुपर्ने हुन्छ । केही गरौं भनेर सोच्यो, बजेट हुन्न । यस्तो अवस्थामा स्थानीयले गाँजा खेती गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
सरकारले एक घर एक रोजगारी सिर्जना गरेमा राक्सिराङ गाउँपालिकाको सबै स्थानमा गाँजा तथा अफिम खेती रोक्न सकिने उहाँले बताउनुभयो । यसका लागि तीनै तहको सरकारले सक्रियता देखाउनुपर्छ । पटकपटक प्रहरी र स्थानीय जनप्रतिनिधिबीचको छलफलमा यही कुरा भन्दै आएपनि दिगोरुपमा कसैले नसोचेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले वर्षेनि गाँजा तथा अफिम खेती फँडानी गर्ने गरेता पनि खेती गर्नेक्रम घट्ने भन्दा अर्को वर्ष झनै वृद्धि हुँदै गएको पाइएको छ । गाँजा खेती गर्ने उद्देश्य थाहा हुँदाहुँदै पनि त्यसको न्यूनीकरणमा तीनै तहका सरकार चुकेका छन् । प्रहरीले संवेदनशील क्षेत्र राक्सिराङ, कैलाश, बकैया र बागमतीको मुख्य गाँजा खेती गर्ने स्थानहरुमा प्रहरीको युनिट स्थापना गर्न सक्रियता देखाएकै छैन । जिल्लामा वर्षेनि गाँजा खेती भएको स्थानमा गएर केही संख्यामा नष्ट गरेर फर्कनेमात्रै गरेको पाइएको छ ।