हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा आइतबारबाट सुरु भएको छ । २० औं वार्षिक साधारणसभाको उद्घाटन सहकारीका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता तथा जिल्ला सहकारी संघ मकवानपुरका निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यमा भएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सहकारी विभागले जारी गरेको निर्देशिकाअनुसार पुस १२ गतेसम्म सेयर सदस्यलाई उपस्थित हुने व्यवस्था मिलाइएको छ । दुई हजार तीन सय ७१ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी दुई करोड ५० लाख रहेको छ । यस्तै सहकारीले २१ करोड ८० लाख ९० हजार रुपैयाँ बचत संकलन गरेको छ भने २२ करोड ५८ लाख १४ हजार रुपैयाँ ऋण लगानी गरेको छ । हेटौंडा–२, पुरानो मकवानपुररोडमा आफ्नै भवन भएको सहकारीले हेटौंडा–१६, हटियामा पनि सेवा केन्द्र विस्तार गरेको छ ।